कला, संस्कृति र भेषभूषाको प्रदर्शनी, प्रचारप्रसार तथा संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आज (आइतबार)देखि म्याग्दीको सदरमुकाम बेनीमा दशौं संस्करणको माघेसङ्क्रान्ति मेला सुरु भएको छ ।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यम विकास समिति म्याग्दीद्वारा माघेसङ्क्रान्ति मेला एवं विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । मेलामा जिल्लास्थित विभिन्न जातजातिहरुको झाँकी र भेषभूषा प्रदर्शन गरिएको छ ।

माघेसङ्क्रान्ति पर्वको अवसर पारेर आयोजित मेलामा विभिन्न स्थानीय उत्पादनहरुको स्टलहरु समेत राखिएको छ । परम्परागत रुपमा म्याग्दीको बेनीमा लगाइने माघी मेलालाई निरन्तरता दिनका लागि यसवर्ष पनि माघेसङ्क्रान्ति मेला आयोजना गरिएको महिला उद्यम विकास समिति म्याग्दीका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो । मेला आउँदो माघ २ गते मङ्गलवारसम्म चल्नेछ ।

यसैगरी म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिको आयोजना र कृषि ज्ञान केन्द्र म्याग्दीको व्यवस्थापनमा कृषि प्रदर्शनी मेला राखिएको छ । उक्त मेलामा म्याग्दीका स्थानीय तथा अर्गानिक उत्पादनहरु लेकाली मुला, फर्सी, सुन्तला, आलु, कालो र सेतो ऊखु, तोरी, सिताके च्याउ, भटमास, सिलाम, सिल्ट्युमर, च्याउ, भाङ्गो, मकै, निगालोको टुसा र चरेलाको सुकुटी, ढकायो, लट्टे, सिस्नोको धुलो, कुबिन्डोलगायत कृषि उपज एवं विभिन्न प्रकारका फलफुलका प्रजातिहरु प्रदर्शन गरिएको छ ।

कृषि प्रदर्शनी मेलामा ४८ जना कृषकहरुले सहभागिता जनाएका छन् । जिल्लामा उत्पादन हुने रैथाने बालीको संरक्षण, कृषि उपज तथा फलफुलको प्रदर्शनी र स्थानीय कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । मेलामा उत्कृष्ट हुने कृषकलाई प्रोत्साहनस्वरुप सम्मान गरिने भएको छ । माघेसङ्क्रान्ति मेलाको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बीर)ले एक समारोहबीच उद्घाटन गर्नुभयो ।

माघेसङ्क्रान्ति मेलाको अवसरमा महिला उद्यम विकास समितिले विभिन्न विधातर्फ चार जनालाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सिलाइकटाई उद्यमी कमला गिरी, कृषि उद्यमी पवित्रा कार्की, राजनीतिकर्मी थममाया थापा र कलाकारतर्फ लोकगायिका धनकुमारी थापा रहनुभएको छ । मेलामा एकल नृत्य, लोकदोहोरीगीत प्रतियोगिता, कलाकारहरुको प्रस्तुतीलगायत कार्यक्रमहरु रहेका छन् ।

म्याग्दीको बेनीमा तीन वर्षको अन्तरालमा एकपटक म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा म्याग्दी महोत्सव र महिला उद्यम विकास समितिको आयोजनामा माघेसङ्क्रान्ति मेला हुँदै आएको छ । जिल्लास्तरमा हुने मेला, महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीय उत्पादनहरुको प्रचारप्रसार हुने अपेक्षा गरिएको छ ।

Leave a Reply