म्याग्दीको सदरमुकामस्थित खुल्लामञ्चमा आइतबारदेखि माघेसङ्क्रान्ति मेला सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यम विकास समिति म्याग्दीद्वारा आयोजित मेलाको उद्घाटन समारोहमा पुगेका प्रमुख अतिथि, अतिथि, विभिन्न जातजातिहरुको झाँकी र भेषभूषा प्रदर्शनमा सहभागी, दर्शक र आयोजक धुलोले धुलाम्मै भए । मेलास्थलको अवस्था हेर्दा खुल्लामञ्चले आफ्नै लाज छोप्न असफल भएको देखिन्थ्यो ।

हावाले उडाइदिने जोखिम रहेको पुरुष र महिला शौचालयभित्र मान्छे नदेखिने गरी जस्तापाताले बारिएको छ। बजेट अभावका कारण अलपत्र परेको प्याराफिटलाई जस्तापाताको घुम्टो लगाउन खोजिएको,स्थानीय उत्पादनहरु राखिएको स्टलहरू नजिकै बालुवाको थुप्रो, धुँलोबाट खानाका परिकार,अन्य साम्रागी जोगाउन ब्यापारीको चिन्ता खुल्लामञ्चभित्र सहजै देख्न सकिन्छ ।

एउटा गतिलो पुरुष र महिला शौचालय समेत नभएको भन्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले आफ्नो मन्तब्यमा खुल्लामञ्चलाई बजेट मागे ।

मेयर केसीसँगै बेनपा ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले समेत खुल्लामञ्चले बजेट मागेको भन्दै ब्यङ्ग्य गदैं खुल्लामञ्चकै बारेमा बोलेका थिए । करिब ३ दशकको अवधिमा समेत गतिलो खेलमैदान बनाउन नसकिएको खुल्लामञ्चमा खेलकुददेखि मेला महोत्सव र अन्य सार्वजनिक कार्यक्रम हुन्छ ।

मेलामा बोल्ने अधिकांस बक्ताले खुल्लामञ्चलाई मिनी रंगशाला बनाउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका थिए । गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले आफ्नो कार्यकाल अवधिमा खुल्लामञ्चलाई मिनी रंगशाला बनाएरै छोड्ने प्रतिबद्धता ब्यक्त गरे । उनले खुल्लामञ्चका लागि बजेट स्रोत सुनिश्चितता गरिने बताए ।

प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) खोजेपनि नपाएको बताउँदै डिपिआरसँगै खेलकुद मन्त्रालयबाट एकैबर्षमा खुल्लामञ्चको काम सक्ने गरी काम अगाडी बढाउने बताए । उनले खेलकुद मन्त्रालयमा खुल्लामञ्चका बारेमा पटकपटक पुगेर राखेको बताए ।

बेनी नगरसँग भएको डिपिआर लिएर एकै बजेटमा खुल्लामञ्चलाई मिनी रंगशालाको रुपमा देखाउने प्रतिबद्धतालाई कार्यान्वयन गरेरै छोड्ने उद्घोष गरे। माघेसङ्क्रान्ति मेलामा अतिथिहरूको प्रतिबद्धतासँगै अब बजेट आउनेमा आशाबादी दर्शकले ताली बजाएका थिए । । खुल्लामञ्चको अहिलेको अवस्था र विगतमा गरिएको बाचा पूरा नहुदाँ भने अतिथिको मन्तब्य हात्तिको देखाउने दाँत जस्तै भएको महसुस हुन्छ ।

मिनी स्टेडियम बनाउने योजनामा खेलमैदानलाई फराकिलो बनाउने र प्याराफिट बनाउने पूर्वाधारको काम बजेट अभावका कारण बेनी नगरपालिकाले संसोधित बजेटबाट समेत अहिले बजेट विनियोजन गरेको छ । कनिका छर्केजस्तै बजेटले भने खुल्लामञ्चले छोपेको लाजको पर्दा हटाउन असम्भव नै छ। मिनी रंगशालाका लागि करिब १० करोड लागत अनुमान गरिएको डिपिआर बेनी नगरपालिकाले तयार गरेको थियो ।

कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानो भन्दा फराकिलो ११–११ जना फुटबल खेल्न मिल्ने मैदान बनाउन ९६ मिटर लम्बाई र ४५ मिटर चौडाई भएको मापदण्ड नपुग्दा ९–९ जनाको टिममा प्रतियोगिता हुने गरेको छ ।

कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलमा अवस्थित खेल मैदान विस्तारसँगै नदी किनारामा तटबन्ध उठाई ८ हजारभन्दा बढी दर्शक अट्ने ९०–९० मिटर लामो प्यारापिट सहितको संरचना बन्दै अलपत्र पदै गरेको अवस्थामा माघेसङ्क्रान्ति मेलाको उद्घाटन सत्रमा पुगेका अतिथिको प्रतिबद्धता ब्यवहारमा आउँ कि आउँदैन् त्यो भने अबको ६ महिना भित्र थाहा हुन्छ ।

Leave a Reply