उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्वार तातोपानी कुण्डमा स्नान गर्ने बिरामी र अवलोकनका लागि जानेले हिउँदको समयमा वारपार गर्न काठेसाँघु निर्माण गरिएको छ ।

अन्नपूर्ण गापा–२ भुरुङ तातोपानीदेखि पारी पाउद्वारको पुछारमा रहेको तातोपानी कुण्डमा पछिल्लो समय विभिन्न रोगका बिरामीको चाप बढ्दै जान थालेपछि बेनी–जोमसोम सडकखण्ड अन्तरगत भुरुङ तातोपानी नजिकबाट कुण्डमा पुग्ने गरी अस्थायी साँघु निर्माण गरिएको तातोपानी कुण्डका सञ्चालक डेमबहादुर तिलिजा पुनले बताए ।‘एक लाख खर्चिएर काठेसाँघु बनाएको छु, कालिगण्डकीको सतह बढेपछि बगाउँछ’ तिलिजाले भने ।

उनले गतबर्ष बैशाखको अन्तिम सातासम्म आवतजावत गर्न मिलेको बताए । काठेसाँघुको प्रयोग गरेर सडकबाट ५ मिनेटमै कुण्डमा आउन सकिन्छ । एउटा झोलुङ्घे पुल समेत नहुदाँ पर्यटक र बिरामीलाई बर्खाको समयमा घुमाउरो र साँधुरो पदैलमार्गबाट कुण्डमा जानुपर्ने बाध्यता रहेको छ । सामान्य संरचना तयार गरेपछि कुण्डको प्रयोग हुन थालेपछि डेढ दशकदेखि स्थानीय समुदायले काठेसाँघुको प्रयोग गर्ने गरेका थिए । काठेसाँघुमा काठका फ्ल्याक, बाँस र ग्याबियन झाली प्रयोग गरिएको छ ।

बालबालिकादेखि बृद्धबृद्धासम्म दैनिक आवतजावत गर्ने भएकाले दायाँबायाँ काठकै रेलिङ हालिएको छ । पाउद्वार तातोपानी कुण्डलाई गाउँपालिकाले वार्षिक रूपमा २३ लाखको ठेक्का लगाएको छ । कुण्डमा चोटपटक लागेको, सर्केमर्केको, ग्यास्ट्रिक, चिसोका कारण लागेको रोग, गानोगोलालगायत समस्या भएका बिरामीका उपचारका लागि कुण्डमा स्नान गर्न आउने र एकहप्तामा निको भएर फर्किने गरेका छन् ।

पानीको तापक्रम ६८ डिग्री सेल्सियस छ । मुस्ताङ भ्रमण गरेर फर्किएका पर्यटक पनि कुण्डमा स्नान गर्न जाने भएकाले पर्यटकको समेत चाप लाग्ने गरेको छ। यसैबीच पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त स्थानमा झोलुङ्गे पुल बनाउन चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सकारले बजेट विनियोजन भएको र यही वर्षभित्र झोलुङ्गे पुल निर्माण हुने जनाएको छ ।

Leave a Reply