आज माघ १ गते अर्थात् माघे सङ्क्रान्ति। आजको दिनलाई विभिन्न समुदायले विभिन्न तरिकाले मनाउने गर्छन्।

थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले माघे सङ्क्रान्तिको रुपमा आजको दिनलाई मनाउने गर्छन्। माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी अर्थात् नयाँ वर्षको रुपमा मनाउने गर्छन्।

त्यस्तै मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालका हिमाल, पहाड र तराईमा यो पर्वलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन्।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ। त्यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ। आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो।

आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ। माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्त्व छ। स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ। यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ।

यस्तै तराई मधेशमा आजको दिनलाई तिला सङ्क्राइतको रुपमा मनाउने गरिन्छ। बिहानै स्नान गरेर तिलको लड्डु खाने परम्परा रहेको छ। यस्तै आजको दिन दहि च्यूरा, खिचडी खाने परम्परा पनि तराई मधेशमा रहेको छ।

Leave a Reply