नेपाल बैंकर्स संघ म्याग्दीले चर्चित यूवा गायक प्रकाश दुतराज सम्मान गरेको छ । गीतसंगीतको माध्यमबाट विश्वभर चिनिएका म्याग्दीको मंगला गाउँपालिका-५,अर्मनका दुतराजलाई सोमबार गलेश्वरमा एक कार्यक्रम गरी सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो ।

बैंकर्स संघ म्याग्दीका अध्यक्ष नवराज ढुंगाना, प्रथम उपाध्यक्ष कमल ढुंगाना, द्धितिय उपाध्यक्ष सोकेन्द्र थापा मगर, सचिव नारायण सापकोटाले सम्मान गरेका थिए । सम्मान गदैं संघका अध्यक्ष ढुंगानाले प्रकाश दुतराजले सांगीतिक क्षेत्रमा प्राप्त गरेको सफलताले म्याग्दीको शीर उच्च भएको बताए ।

उनले गायक दुतराजको सांगीतिक क्षेत्रको सफलता सम्पूर्ण म्याग्देलीको प्रतिष्ठासँग जोडिएको बताए। ‘बैंकर्स संघले वित्तियसँगै रचनात्मक कार्यहरूमा सहकार्य गर्छ’ अध्यक्ष ढुंगानाले भने ।

उनले वित्तिय साक्षरता सहितका कार्यक्रमहरु पहिलो प्राथमिकता भएपनि सामाजिक एवम् मानवीय सेवाका कार्यहरुमा समेत निरन्तर सक्रिय हुने बताए । सम्मान कार्यक्रममा बोल्दै गायक दुतराजले म्याग्दीको माटो र मायाँकै कारण यो स्थानमा आएको बताए ।

‘यो सम्मानले मलाई थप जिम्मेबारी बनाएको छ, सांगीतिक क्षेत्रमा थप सक्रिय हुन्छु’ गायक दुतराजले भने । म्याग्दीको माटोले गीत सिर्जना गर्न सिकाएकाले आगामी दिनमा जिल्लालाई चिनाउने गरी काम गर्ने बताए ।

उनले आफ्नो सांगीतिक क्षेत्रको सफलताका लागि वित्तिय क्षेत्रको योगदान समेत रहेको चर्चा गरेका थिए । गायक दुतराजको हालै सार्वजनिक भएको दुतराजको नयाँ कोशेली रिमैं राउटे समुदायको बसाइसराईको कथासँग जोडिएको थियो ।

‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा जस्ता सांगितिक श्रृखला निकै रुचाइएको छ । गायक दुतराजले गीत मनोरञ्जनका लागि भन्दा पनि समाजको विकृती र सामाजिक सद्भावका लागि प्रस्तुती दिने गरेका छन् ।

करिब २ दर्जन गीत पस्किएका दुतराजका अधिकांस गीत चर्चित भएका थिए । नेपाल बैंकर्स संघ म्याग्दीको सम्मान कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले समेत गायक दुताराजको चर्चा गरेका थिए । सम्मान कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष नवराज ढुंगाना, स्वागत उपाध्यक्षद्धय कमलप्रसाद ढुंगाना र सकेन्द्र थापामगरले गरेका थिए भने सञ्चालन सचिव नारायण सापकोटाले गरेका थिए ।

Leave a Reply