परम्परागत रैथाने बालीको संरक्षण गर्ने उद्देश्यले म्याग्दीको बेनीमा लगाइएको कृषि मेला तथा रैथाने बाली प्रदर्शनीमा मङ्गलवार जिल्लाका १८ जना कृषकहरु सम्मानित भएका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिको आयोजना र कृषि ज्ञान केन्द्र म्याग्दीको सहजीकरणमा सम्पन्न कृषि मेला तथा रैथाने बाली प्रदर्शनीमा उत्कृष्ट भएका कृषकहरुलाई आज एक समारोहबीच सम्मान प्रदान गरिएको हो ।

कृषि मेला प्रदर्शनी तथा रैथाने बाली प्रदर्शन कार्यक्रममा काउली वर्ग, लहरेबाली, जरेबाली, फलफुल प्रजाति, उखु खेती र विविध शीर्षकमा गरी १८ जना उत्कृष्ट कृषकहरुलाई छनोट गरेर सम्मान गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

कृषि मेलामा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय भएका कृषकहरुलाई क्रमशः नगद २५ सय, दुईहजार र १५ सय रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । कृषि मेला प्रदर्शनीमा सहभागी भई सम्मानित कृषकहरुले मूल्याङ्कनसहित आफूहरुलाई पुरस्कृत गरेकोमा धन्यवाद दिएका छन् । गएको आइतबारदेखि आजसम्म तीन दिन म्याग्दीको बेनीमा कृषि मेला प्रदर्शनी आयोजना गरिएको थियो ।

Adv

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा जिल्लाको ग्रामीण भेगमा कृषकहरु आफूले उत्पादन गरेका स्थानीय कृषि उपज तथा फलफुल प्रजातिका उत्पादनहरु कृषि प्रदर्शनीमा ल्याएका थिए ।

स्थानीयस्तरमा उत्पादित कृषि उपजहरुको प्रचारप्रसार तथा कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कृषि मेला प्रदर्शनी गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सन्जीव बाँस्तोलाले बताउनुभयो ।

जिल्लाका ४९ जना अगुवा कृषकहरुले सहभागिता जनाएको कृषि प्रदर्शनी मेलामा स्थानीय जातको मुला, फर्सी, सिताके च्याउ, सिलाम, लट्टे, निगालोको टुसा र चरेलाको सुकुटी, सिस्नोको धुलो, कुबिन्डो, ढकायोलगायत फलफुल, नगदे तथा लेकाली उत्पादनहरु प्रर्दशन गरिएको थियो ।

जिल्लामा उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न, कृषि उपज तथा फलफुलको प्रदर्शनी र प्रचारप्रसार एवं स्थानीय कृषकलाई प्रोत्साहन गर्नका लागि कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको जनाइएको छ ।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिको आयोजनामा माघेसङ्क्रान्ति मेलाको समेत आयोजना गरिएको थियो ।

Leave a Reply