म्याग्दीमा विभिन्न समयमा चोरी भएका २५ थान मोवाइल प्रहरीले खोजी गरी फिर्ता गरेको छ । सार्वजनिक सवारी साधनहरु, भिडभाड हुने स्थानहरु, घरभित्रबाट हराएको मोबाइल चोरी भएको निवेदनको आधारमा आईएमई नम्बर परीक्षण गरी मोवाइल धनीलाई नै फिर्ता दिएको हो ।

निवेदनकर्ताले मोवाइल कम्पनीको नाम, मोडेल र मोबाइलको आइएमइआइ (इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी) नम्बर सहित निवेदन दिएकाको मोवाइल खोजी गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । ‘मोवाइल पसललाई समेत चोरी भएको आशंका लागेकालाई तत्काल जानकारी दिन अनुरोध गरेका छौ,‘ एमडिएमएसमा दर्ता भएका मोवाइल खोजी गर्न सहज भएको छ’ प्रनाउ कुँवरले भने ।

उनले हराएका ९१ वटा मोवाईलको निवेदन आएपनि २५ वटा विशेष अनुसन्धान पश्चात नियन्त्रणमा लिन सफल भएको बताए । हराएका मोवाइलको निवेदन पर्ने गरेपनि धेरैजसोलाई आइएमइआइ नम्बर समेत नराखी निवेदन दिने गरेको पाइएको छ । इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टी नम्बर ‘इएमआइइ’ दिएर निवेदन दिने मोबाइल खोज्न प्रहरीलाई सजिलो हुन्छ ।

निवेदनमा केहीले मोडेल मात्रै दिएर खोजीकार्य गर्न अनुरोध गरेकाले त्यस्ता मोबाइल फेला पार्न समस्या हुने भएपनि अधिकांस मोवाइलको ट्याकिङ भइरहेको बताए ।

प्रयोगकर्ताले मोबाइल भित्रको आवश्यक सुरक्षा नम्बरलाई सुरक्षित राख्नुपर्छ । चोरी भएको मोवाइलहरू सस्तोमा किन्ने, मोवाइल पसलमा लगेर बेच्ने र त्यही मोवाइल अर्कोले खरिद गरी लैजाने गरेको अवस्थामा समेत भेटिएको प्रनाउ कुँवरको भनाई छ ।

चोरीका मोबाइल किनेर प्रयोग गर्नेविरुद्ध प्रहरीले कानुन अनुसार मुद्धा चलाउने प्रनाउ कुँवरले बताए । प्रनाउ कुँवरले चोरीमा संलग्न मात्र नभई चोरीका मोबाइल किनेर प्रयोग गर्नेविरुद्ध पनि मुद्धा दर्ता गरेर कानुनी कारवाही अघि बढाउने भन्दै चोरी भएका मोवाइल इमान्दारितापूर्वक प्रहरीमा बुझाउन समेत अनुरोध गरे ।

आफ्नो हक नपुग्ने कुनै पनि धनमाल वा सम्पत्ति प्रयोग गरेको पाइएमा चोरी ठहर्ने उनको भनाइ छ । म्याग्दी प्रहरीको सामुदायिक सचेतना अभियानमा समेत मोवाइल चोरी सहित अन्य घटनाका बारेमा सचेत बनाउने गरेको छ ।

‘इएमआइइ नम्बर दिएपछि सिम फालेर मोबाइल चलाएपनि कहाँ चलिरहेको छ थाहा हुने भएकाले पनि प्रयोगकर्ताले अनिवार्य रुपमा इएमआइइ नम्बर सहित निवेदन दिएमा प्रहरीले देशभरीबाटै मोवाइल फेला पारेर ल्याउन सक्छ । अर्काको मोबाइल चोरी गरी प्रयोगमा संलग्नलाई ३० हजार देखि ५० हजारसम्म जरिवाना र कैद सजाय समेत हुन्छ ।

 

Leave a Reply