भारतको अयोध्यास्थित निर्माणाधीन राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने केही दिन बाँकी रहदाँ उक्त मन्दिरमा मूर्ति बनाउन भनेर म्याग्दीको कालिगण्डकी नदीबाट लगिएका शिलाबारे अहिले कुनै चहपहल छैन ।

मूर्ति बनाउने भनेर स्थलगत अनुगमनदेखि उत्खनन् र हस्तान्तरण, अयोध्यासम्म पुर्याउँदासम्म चर्चा भएपनि अहिले शिलाको प्रयोगका बारेमा खासैं चर्चा छैन।

मन्दिर बन्न थालेपछि गत बर्षको माघ महिनाको दोस्रो साता कालीगण्डकी किनाराबाट दुईवटा शिलाहरू अयोध्या पु¥याइएका थिए।बेनी नगरपालिका वडा नम्बर–६ ठूलोबगरस्थित कालीनदी किनाराबाट त्यसबेला १४ र २७ टनका दुईवटा शिलाहरू जनकपुरस्थित जानकी मन्दिरमार्फत् अयोध्या पठाइएको हो।

उत्खनन् र हस्तान्तरणसम्म शिलाबाट मूर्ति बनाउने भनिएपनि भारत पुगेपछि बोलि फेरिएको थियो । मूर्ति कुद्न शिलाहरू “उपयुक्त नभएकाले” भन्दै अहिले प्रयोग नगरी राखिएको छ ।

कतिपय भारतीय सञ्चारमाध्यमले राम मन्दिरस्थित केही सन्तहरूले कालीनगण्डकी शिला शालिग्राम बराबरकै हुने भएकाले त्यसलाई फुटाउन हुँदैन भन्ने तर्क गरेपछि पनि मूर्ति नबनाइएको भन्ने समाचारहरु समेत आइरहेका छन् ।

भारतका प्रतिष्ठित सन्तहरुले कालिगण्डकी नदीमा पाइने सबै शिला नै शालिग्राम जस्तै पूजाआजा गर्नुपर्ने भएकाले फोड्न नहुने तर्क गरेपनि मूर्तिकारले ‘त्यस्तो शिलामा बनाउन सम्भव नहुने’ बताएपछि अन्य शिलाहरूमा मूर्ति कुँदिएको बताइएको छ। १४ टनको शिलालाई शालिग्रामस्वरूप मानिएकाले २७ टनको शिलामा मूर्ति कुँद्ने प्रयास गरिपनि त्यो पनि उपयुक्त नहुँदा अहिले दुवै शिलालाई राम मन्दिर निर्माणस्थल नजिकै राखिएको छ ।

राम मन्दिरको गर्भगृहमा राख्नका लागि भारतकै विभिन्न स्थानबाट ल्याएका पत्थरहरूबाट तीनवटा मूर्ति बनाइएका छन्। तीमध्ये उपयुक्त एकलाई छानेर गर्भगृहमा राखिनेछ।आगामी २२ जनवरीमा अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको प्राणप्रतिष्ठा हुन लागेको जनाएको छ। प्राणप्रतिष्ठा कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित देश–विदेशबाट विशिष्ठ अतिथिहरू अयोध्या पुग्ने बताइएको छ।

म्याग्दीबाट बेनी नगरपालिकाका मेयर सुरत केसीले शिला हस्तान्तरण गरेका थिए भने गण्डकी प्रदेशबाट तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले जनकपुरधाम मन्दिरलाई हस्तान्तरण गरेका थिए । शिला उत्खखनन् गरेका क्षेत्रमा धार्मिक संरचना बनाउने प्रस्ताब समेत अहिले अलपत्र परेको छ । सडकखण्ड विस्तारको क्रममा शिला उत्खनन् गरिएको आसपासका अन्य शिलाहरु समेत ठेकेदारले मासेका छन् ।

Leave a Reply