बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटका पूर्व जनप्रतिनिधि, कांग्रेस कार्यकर्ता शहीद भीमबहादुर घिमिरेको २२ औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ।  नेपाली कांग्रेस जिल्ला कार्य समितिका पूर्व सचिव क्याप्टेन मीनबहादुर कार्की लगायतले शहीद घिमिरेको तस्वीरमा माल्यार्पण गरेका थिए । पूर्व सचिव कार्कीले सहिद घिमिरेको सामाजिक र राजनीतिक भूमिका र योगदानको स्मरण गरेका थिए।

कार्यक्रममा पार्टीका जिल्ला सहसचिव ध्रुवराज कार्की, सदस्य अजयमिलन श्रेष्ठ, कांग्रेस महाधिवेशन प्रतिनिधि एवम् नेपाल तरुण दलका केन्द्रीय सदस्य विक्रम बोगटी, नेपाल तरुण दलका पूर्व जिल्ला सचिव तथा नेपाल विद्यार्थी संघका पूर्व जिल्ला अध्यक्ष ज्ञानेन्द्र केसी, नेपाल महिला संघ, म्याग्दीका उपाध्यक्ष सृजना श्रेष्ठ, नेपाल पत्रकार महासंघ , म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, पार्टीका बेनी न.पा. २, वडा कार्य समितिका कार्यवाहक सभापति एवम् सहिद पुत्र भूपेन्द्र घिमिरे, शहीदका कान्छी बुहारी अप्सरा घिमिरे, शहीदका नातिनी आयुष्मा घिमिरे लगायतको उपस्थिति रहेकोे थियो।

तत्कालीन विद्रोही माओवादीको निशानामा परी हत्या गरिएका सहिद घिमिरे ज्यामरुककोट गाविसका पूर्व अध्यक्ष र पार्टीका स्थानीय सभापति थिए । २०५८ माघ ५ गते भीमबहादुर घिमिरेलाई खबरा दारिम्पाटास्थित घरमा सुतिरहेको अवस्थामा आक्रमण गरी हत्या गरिएकाे थियो।

कांग्रेस कार्यकर्ता एवम् सामाजिक अभियन्ता अजयमिलन श्रेष्ठको अग्रसरता र समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। शाहदत प्राप्त लोकतन्त्रवादी व्यक्तित्वको स्मरण गर्दै शोकलाई शक्तिमा बदल्ने सङ्कल्पका साथ निजको स्मरणका साथ स्मृति दिवस मनाइएको अभियन्ता श्रेष्ठले बताएका छन्।

Leave a Reply