म्याग्दी बेनी नगरपालिका–४ मा अवस्थित सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिलाई रोटरी क्लब अफ पोखरा, अन्नपूर्णले ४ थान व्हिलचियर प्रदान गरेको छ। तातोपानीमा प्राकृतिक उपचार गर्न आउने बिरामी, अशक्त र बृद्धबृद्धाका लागि प्रयोग गर्न व्हिलचियर हस्तान्तरण गरिएको हो।

कुण्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवम् गण्डकी प्रदेश सभासद बिमला गौचनका हातबाट हस्तान्तरण गरिएका व्हिलचियरहरू समितिका अध्यक्ष कृष्ण खड्का, उपाध्यक्ष उषा श्रीश र सचिव कुमार के.सी.ले ग्रहण गरेका थिए।

कार्यक्रममा व्हिलचियर दाता क्लबका अध्यक्ष तोया भट्टराई, प्रमुख अतिथि गौचन र समितिका अध्यक्ष खड्कासहितले तातोपानी कुण्डलाई स्वास्थ्य पर्यटन केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।

स्मरणरहोस्, सिंगा तातोपानी कुण्डमा असोजदेखि चैतसम्म प्राकृतिक उपचार गर्नेहरूको घुइँचो लाग्छ। यहाँको कुण्डमा महिला र पुरुषलाई बेग्लाबेग्लै समयमा डुबुल्की मार्ने ब्यबस्था मिलाएको छ। प्राकृतिक तातोपानीको उपचारबाट हाडर्जोनी, ग्यास्टिक र छालाका रोगहरू सन्चो हुन्छ।

‘आजका दिनमा साँढे चार सय जना उपचार गराइरहेका छन्’, कुण्ड व्यवस्थापन समितिका सचिव के.सी.ले एभरेष्ट पेडियालाई भने, ‘कोही महिना दिन, कोही दुई हप्ता त कोही एक हप्ता बसेर तातोपानी उपचार गर्छन्।’

 

Leave a Reply