पोखरामा भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा एपिएफकी निरुता ठगुन्ना र हेल्प नेपालका फकर उद्धिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । महिलातर्फ ठगुन्ना र पुरुषतर्फ फरक उत्कृष्ट घोषित भएका हुन् ।दुवै टिमले टाइगर कप जितेका छन् । फकर पाकिस्तानी खेलाडी हुन् । उनीहरुले ट्रफीसहित जनही २५ हजार ५ सय ५५ नगद पाएका छन् ।

महिला तर्फको उत्कृष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटर एपिएफकी जस्मिता महतो, उत्कृष्ट सर्भरमा न्यु डायमन्डकी बाल्मिका आचार्य, उत्कृष्ट ब्लकरमा आर्मीकी सुनिता खड्का र उत्कृष्ट डिफेन्डरमा न्यु डायमन्डकी सलिना श्रेष्ठ घोषित भए ।

पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा हेल्प नेपालका मजहर अली, उत्कृष्ट सटर मोहम्मद काशिफ, उत्कृष्ट सर्भर गण्डकीका हिमाल सुनारी, उत्कृष्ट ब्लकरमा गण्डकीकै रामास्वामी आङ्गामुथु, उत्कृष्ट डिफेन्डर गण्डकीकै दीपक थापा घोषित भए । पुरुषतर्फ टिपटप हेल्प नेपालका प्रशिक्षक उत्सव खडका र महिलातर्फ एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।सबैलाई जनही नगद १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिएको आयोजक टाइगर क्लब पोखराले जनाएको छ ।

Leave a Reply