गण्डकी प्रदेशको लाइफलाइन मानिएको उत्तर–दक्षिण जोड्ने सडक अन्तरगत अन्नपूर्ण गाउँपालिका–६, भीरकाटेमा कालिगण्डकी नदीको कटानका कारण दुईलेनको सुरूङमार्ग (टनेल) बनाउन कन्टेन्जेन्सी खर्च कटाएर झण्डै ९० करोड  लागत सहित स्वीकृतिका लागि पठाइएको छ ।

कालिगण्डकीको कटानले सडक साँधुरो बनेपछि नियमित सडक सञ्चालनमा सवैभन्दा कठिन देखिएकाले ३ सय ८४ मिटर लामो सुरुङ बनाउन डिजाइन सहित फाइल तयार गरी स्वीकृतिका लागि पठाइएको बेनी–जोमसोम–सडकका आयोजना प्रमुख धुब्र झाँले बताए । ‘सुरूङ बाहेकको अर्को विकल्प छैन,सडकको सुरक्षाका लागि सडकको पूरानो परिवर्तन गरी सुरुङमार्गको डिजाइन गरिएको छ,’ प्रमुख झाले भने ।

सडकखण्डको अग्लो कडा पहाड विस्फोटन वा अन्य विधिबाट काटेर सडकको लेभलमा ल्याउन सम्भव नभएपछि खर्चिलो विधि अपनाइएको उनले बताए । अहिले भीरकाटे खण्डमा नदी किनारामा ढुंगा राखेर डाइभर्सन गरिएको छ । उक्त खण्डमा अहिले सडकको बेस छैन ।

सुरूङको प्रस्ताव गरिएको उक्त खण्डको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समेत स्थलगत अनुगमन गरी थप प्रक्रियाका बारेमा चासो देखाएका थिए । ‘कालिगण्डकी करिडोरमा दिगो र सुरक्षित संरचना बनाउन सरकार सकारात्मक छ,‘बर्षेनी प्राकृतिक विपत्तीले क्षती पुग्ने सडकखण्डमा डिजाइन परिवर्तन गर्नुपर्छ’ मन्त्री ज्यालाले भने ।

मन्त्री ज्यालाले सडकको सुरक्षा र यात्रुलाई समेत सहज हुने मार्गलाई मन्त्रालयले आवश्यक स्रोत सुनिश्चितताका लागि पहल गर्ने बताएका थिए । मन्त्री ज्यालाले सुरुङमार्ग खर्चिलो भएपनि दिगो भएकाले काठमाण्डौ फर्किएपछि अध्ययन गरी अगाडी बढाउने बताए । सडकखण्डको दायाँतर्फ अग्लो ओडार परेको कडा पहाड र बायाँ किनारामा कालीगण्डकी नदीले डेढ दशकदेखि लगातार कटान गरिरहेको छ ।

बर्खाको समयमा सडकमै कालिगण्डकी नदीको बाहब पुग्ने भएकाले साना सवारीसाधनलाई जोखिम रहेको छ भने कुनैपनि बेला सडकको बेस समेत नरहने गरी कटानको जोखिम रहेको आयोजना पक्षले जनाएको छ । त्यस्तै मुस्ताङको सिमाना जोडिएको बाँदरजुँग भीर आसपासको जोखिम क्षेत्रमा समेत छोटो दुरीको सुरुङको प्रस्तावका बारेमा सामान्य छलफल मात्रै भएको छ ।

१ सय १० किमि लामो जोमसोम–कोरला सडकमध्ये म्याग्दी खण्डको बेनीदेखि घाँसासम्म पहिरोले क्षती पुगेको खण्डमा सुरुङ बाहेका अन्य विकल्पका बारेमा समेत थप अध्ययन भइरहेको छ । बि.स. २०७४ मा शुरु भएको चिनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने सडक ७ अर्ब २७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

१ सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको कार्यक्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हँुदै कोरला नाकासम्म पर्छ ।

मन्त्री ज्यालाको अनुगमन टोलीमा म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशका भौतिक योजना तथा यातायात ब्यवस्था मन्त्री रेशम जुग्जाली, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल सहितको टोलीले सडकखण्डको समस्याका बारेमा जानकारी गराएका थिए ।

Leave a Reply