म्याग्दीमा अवैध रुपमा खुलेका र अनुमति पाएका औषधि पसलले बिरामीलाई मनपरी औषधि दिदाँ जटिल रोगका बिरामीको संख्या बढ्न थालेको छ। जिल्लामा स्वास्थ्यकर्मीको अगुवाईमै छ्यापछ्याप्ती खुलेका अनुमति विनाका औषधि पसलहरूको अनुगमनमा स्थानीय तह, सरोकारवाला निकायले आँखा चिम्लिदाँ औषधि पसलको लापरवाहीका कारण नागरिकको ज्यानै जोखिममा परेको छ ।

जिल्ला अस्पताल बेनीमा भेटिएका जटिल रोगका बिरामीले निको हुने भन्दै औषधि पसलबाट लिएर प्रयोग गरेको औषधिले अहिले जटिल रोगको सामना गर्नुपरेको गुनासो गरेका छन् ।

बेनी अस्पतालको डायलासिस सेन्टरमा भेटिएका मृगौलाका बिरामीमध्ये अधिकांसले औषधिको प्रयोगका बारेमा ज्ञान नहुदाँ अहिले जिवनमरणको क्षणमा पुगेको बताए । बजार तथा ग्रामिण क्षेत्रमा औषधि पसलहरूले डक्टरको प्रेस्क्रिप्सन नभईकन पनि सहजै दिने गरेको औषधिको दिर्घकालिन असर देखिन थालेको छ ।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै मृगौलाका बिरामी भएको जिल्ला समेत म्याग्दीमा देखिनुउच्च डोजको औषधिको असावधानीपूर्ण प्रयोग नै रहेको चिकित्सकको भनाई छ । रोग छिटो निको हुने बुझाईमा चिकित्सकलाई जाँच नगराई मिठाई जसरी औषधि किनेर उपभोग गर्दा स्वास्थ्य जोखिममा परेको छ ।

नियममा जे लेखिएको भएता पनि बजार अनुगमन नभएका कारणले कसैलाई रुघा, खोकी, ज्वरो आए औषधि पसलेले सहजै एजिथ्रोमाइसिन, इरिथ्रोमाइसिन वा कुनै पनि अरू एन्टिबायोटिक सहजै दिन्छन् । यसरी औषधि प्रयोग गर्दा धेरैजसोलाई निको पनि हुन्छ । कतिपय बिरामीहरू डक्टरकोमा जानुभन्दा सिधै औषधि पसले ‘दाइ’ले दिएको दबाई खाएर पैसा जोगाउँछन् ।

तर, यसको दूरगामी असर के पर्छ भन्ने विषयमा जबसम्म बिरामी वा औषधिका उपभोक्ता आफैँ सजग हुँदैनन्, तबसम्म अहिलेको अवस्थामा तात्त्विक भिन्नता आउँदैन । अनि, निको नहुने रोग लागेर मृत्युवरण गर्नेको संख्यामा पनि खासै कमी आउने सम्भावना हुँदैन ।

म्याग्दीमा जथाभावी रुपमा एन्टिबायोटिक औषधिको प्रयोग गर्दा मुटु, मृगौला, फोक्सोमा समस्या देखिएका जटिल बिरामीहरूको संख्या समेत हरेक बर्ष उकालो लागेको छ । साधारण बिमारीका लागि त्यस्तो बहुआयामिक एन्टिबायोटिक प्रयोग गरिए अलिक गम्भीर प्रकारका रोगलाई त्यस्तो औषधिले काम नगर्ने हुन्छ ।

यसैका कारण औषधिले छुँदै छोएन र बिरामीको मृत्यु भयो भन्ने धेरै घटना सुनेका छौ । कडा खालका औषधिको प्रत्यक्ष प्रयोग गर्ने समस्या एकातिर ठूलै रूपमा देखिएको छ भने अप्रत्यक्ष रूपमा हाम्रो शरीरभित्र प्रवेश गरिरहेका एन्टिबायोटिकहरूको सन्दर्भमा पनि सचेत हुने अवस्था आइसकेको अस्पतालका चिकित्सकलृ बताएका छन् । अहिलेको जनस्वास्थ्यका दश प्रमुख समस्यामध्ये एएमआर अर्थात् ‘एन्टी माइक्रोबियल रेजिस्टेन्स’ एक हो ।

यसको मतलब भाइसर, ब्याक्टेरिया, फंगसजस्ता सूक्ष्म जीवले औषधिहरूप्रति प्रतिरोधात्मक क्षमता बढाउनु हो । त्यसैले एएमआर न्यूनीकरणका लागि एन्टिबायोटिक औषधिको प्रयोगमा सचेतना र कडाइका उपाय अवलम्बन गरौँ, विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गरौँ÷गराऔँ र सर्वसाधारणलाई निको हुन सक्ने रोगबाट मर्न नदिऔँ । म्याग्दीमा अवैध रुपमा सञ्चालित औषधि पसललाई बन्द गरी जनस्वास्थ्य माथिको प्रहार रोकौं । बेनी साप्ताहिक समाचारपत्रबाट साभार

Leave a Reply