भनिन्छ, आमाबुबाका लागि आफ्ना सन्तान मुटुको टुक्रा हो । यही भनाइलाई पुष्टि गरेर देखाइदिएकी छन्, बारा सिमराकी ३० वर्षीया सीता अधिकारीले।

सीताले आफ्नो तीन वर्षीय छोरा रिसव अधिकारीलाई आफ्नै कलेजो दिएर नयाँ जीवन दिलाएकी हुन् । रिसबलाइ कलेजाेको क्यान्सर भएको थियो। यस कारण आमाको ४० प्रतिशत कलेजो काटेर छोरामा सफल प्रत्यारोपण गरिएकाे हाे।

‘मेरो आफ्नै कलेजो काटेर दिएर मेरो यो सानो छोरालाई बचाउन पाएकोमा मलाई आज साह्रै खुसी लागेको छ, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दूध पाटी भक्तपुरको अस्पतालबाट आइतबार डिस्चार्ज हुनुअघि सीताले भनिन्, छोराको आस नै मारिसकेका थियौं, तर आज बचाउन सफल भयौँ।

सीता अधिकारी र रूपक अधिकारी दम्पतीको एक्लो छोरा थियो रिसब । उनीहरूका अनुसार सुरुसुरुमा छोरालाई बान्ता हुने, वाकवाकी गर्ने, खाएको नपच्ने लगायतको समस्या भएको थियो । त्यसपछि नजिकैको भरतपुर क्यान्सर अस्पतालमा लगेर उपचार गरियो । त्यहाँबाट क्यान्सर पहिचान गरी केमो (क्यान्सर उपचार विधि) चढाइयो । पलाएको ट्युमर पनि अप्रेसन गरी निकालियो। तैपनि निको भएन र अस्पतालले भारतमा लगेर उपचार गर्न रिफर गरियो।भारतको दिल्लीमा लगेर पनि उपचार गरियो तर केही भएन, मात्र पैसा खर्च भयो।

‘धेरै पैसा खर्च गरेर दिल्लीको अस्पतालमा उपचार गरेर पनि केही निको भएको थिएन, बुबा रूपकले भने, ‘त्यसपछि अंकल मार्फत् डा वर्षा बर्माको तर्फबाट शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दूध पाटी भक्तपुर ल्याइयो र उपचार गरियो।’

वरिष्ठ मृर्गाैला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले पुस २७ गते सार्वजनिक बिदा सहिद दिवसको दिन विहान सात बजेदेखि राति नौबजे सम्मको १४ घण्टापछि सफल प्रत्यारोपण गर्न सफल भएको हो।डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा भएको प्रत्यारोपणमा केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारीले सार्वजनिक बिदाका दिन उक्त प्रत्यारोपण गरेका हुन।

कलेजो झिकेको ६ दिनमा आमा र नौ दिन (आइतबार) बालक डिस्चार्ज भएका हुन्। डिस्चार्ज पछि प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ साथै आमा पनि सामान्य नै छिन् ।

डा श्रेष्ठका अनुसार यस्तो प्रकारको प्रत्यारोपण यो नै पहिलो हो ।उनकै भाषामा चिकित्सा विज्ञानमा कलेजको प्रत्यारण सबैभन्दा जटिल प्रत्यारोपण हो। त्यसमाथि सानो बालकलाई गरिएको प्रत्यारोपण याे नै पहिलो हो।यही कारण केन्द्रले अन्य अस्पतालका चिकित्सकहरूको पनि सहयोग लिएको थियो।

वयस्कको प्रत्यारोपण गर्दै आएको केन्द्रले बालकको प्रत्यारोपण गर्नुपर्ने भएकोले पाटन अस्पतालका बाल रोग विशेषज्ञ डा. पूजा अमात्य लगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालमा वरिष्ठ बाल रोग विशेषज्ञ डा सुमित अग्रवाल, बाल रोग विशेषज्ञ डा वर्षा बर्मा तथा भारतीय चिकित्सकको पनि सहायता लिएको थियो ।

प्रत्यारोपणका नेतृत्वकर्ता चिकित्सक डा श्रेष्ठका अनुसार आमाको ४० प्रतिशत कलेजो काटेको हो । मृर्गाैला जस्तो दुई वटा कलेजो नहुने भएकोले आवश्यक मात्रामा काटेर झिकी अर्कोमा प्रत्यारोपण हुने डा श्रेष्ठले जनाए।उनका अनुसार काटिएको व्यक्तिको कलेजो पछि आफैं तीन महिनामै ९० प्रतिशत वृद्धि हुने हुन्छ।

देशमा कलेजो प्रत्यारोपणको सुरुवात यही केन्द्रले पहिलो पटक सन् २०१६ डिसेम्बरबाट गर्न थालेको थियो । तर वयस्कको मात्रै गरेको थियो।यस केन्द्रले सुरुको केही वर्ष वार्षिक १ दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा यो वर्ष १० जनाको सफल कलेजो प्रत्यारोपण गरिसकेको जनाइएको छ।केन्द्र स्थापनाको ११ वर्ष अवधिमा हालसम्म कुल १८ जनाको कलेजो प्रत्यारोपण समेत भइसकेको छ।

केन्द्रले कलेजोका साथै मृर्गौलाको पनि प्रत्यारोपण गर्दै आएको छ । हालसम्म सबै भन्दा धेरै मिर्गौला एक हजार एक सय ८८ जनाको प्रत्यारोपण गरिसकेको केन्द्रले जनाएको छ।

देशमै पहिलो पटक मस्तिष्क मृत्यु पश्चात् हुने अङ्ग दानबाट प्रत्यारोपण गरेको यस केन्द्रले मस्तिष्क मृत्युपश्चात् प्राप्त हुने अंगदान तथा प्रत्यारोपण कार्य सुचारु गर्न सबैमा आह्वान गरेको छ। केन्द्रस्थित समन्वय इकाईमा सम्पर्क राखी प्रतीक्षाको सूचीमा नाम लेखाउन समस्त अङ्ग फेल भएको व्यक्तिहरूलाई आइतबार पत्रकार सम्मेलन गरी आग्रह गरिएको छ ।

Leave a Reply