---Advertisement---

म्याग्दीबाट ६ महिनाको अवधिमा अख्तियारमा ३९ उजुरी

On: January 23, 2024 7:56 PM
Follow Us:

म्याग्दीबाट अख्तियार दुरूपयोग अनुसन्धान पोखरामा ६ महिनाको अवधिमा ३९ उजुरी परेका छन् । चालु आर्थिक बर्ष २०८०÷८१ मा म्याग्दीका स्थानीय तहमा खानेपानी, सडक, शिक्षा लगायत विभिन्न विषयमा सो उजरी परेको हो ।

अख्तियार दुरपयोग अनुसन्धान केन्द्र पोखराले मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरेको एक कार्यक्रममा अल्या (सरेको) १४ उजुरी रहेकोमा १८ वटा फस्युट गरिएकोमा ३५ उजुरी अनुसन्धानकै क्रममा रहेको अख्तियार दुरूपयोग अनुसन्धान पोखराका प्रमुख सह–सचिव अस्मान तामाङले बताउनुभयो ।

म्याग्दीको मालिका गाउँपालिका १०, मंगला ९, रघुगंगा ८, बेनी नगरपालिका ५, धवलागिरी ३ रहेको छ भने संघीय र प्रदेश सरकारका योजनाहरुमा समेत उजुरी परेको छ ।

म्याग्दीका उजुरीमा नक्कली विल, औषधी वितरण,नदीजन्यबस्तुको उत्खन्न,विकास निर्माणमा गुणस्तरको अभाव, खानेपानी, विद्यालय भवन, पालिकाले प्रयोग गर्ने सवारीसाधन लगायतको क्षेत्रमा उजुरी परेको जानकारी गराइएको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान काठमाण्डौका सहन्यायधिबक्ता पुन्यप्रसाद पाठकले उजुरी पदैंमा दोषी ठहर नहुने बताउनुभयो । मिलेमतो, अनुचित लाभ, राजनीतिक निकटताका आधारमा धेरै भ्रष्टाचारजन्य गतिविधि हुने गरेको बताउँदै आ–आफ्नो पदीय जिम्मेवारीमा सबै गम्भीर बन्न सकेमा मात्रै सुशासनयुक्त समाज बनाउन सकिने बताउनुभयो ।

कानुन बमोजिम प्रदत्त जिम्मेवारी सबैले पूर्ण रूपमा पालना गरेमा मात्र भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सकिने बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले अन्नपूर्ण गाउँपालिकालाई भ्रष्टाचारमुक्त पालिका बनाउँदै सुशासनयुक्त नमुना पालिका बनाउने बताउनुभएको थियो ।

चालु आवको ६ महिनाको अवधिमा अन्नपूर्ण गाउँपालिकाबाट उजुरी समेत नपरेको अवस्थामा विधि र प्रक्रियामा रहेर जनताले पाउने सेवालाई भएको स्रोतसाधन र कर्मचारीले छिटोछरितो गराउने प्रतिबद्धता समेत जनाइएको थियो ।

कार्यक्रमको सञ्चालन अख्तियार दुरूपयोग अनुसन्धान पोखराका शाखा अधिकृत मनोहर ढुंगानाले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रअ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

 

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।