म्याग्दीको बेनी नगरपालिका–८,बेनीको क्याम्पसचोकमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक यूवाको हत्या प्रकरणमा संलग्नको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।
बिहिबार साँँझ करिब साढे ६ बजे युवाहरुको झगडामा एक्कासी खुकुरी प्रहार हुँदा रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २२ बर्षिय शुशिल गर्वुजाको मृत्यु भएको थियो । हतियार प्रहार भएर रक्ताम्य अवस्थामा बेनी अस्पतालमा लगिएको गर्बुजालाई चिकित्सकले मृत घोषित गरेका थिए ।
गर्बुजालाई प्रहार गरेको खुकुरी सहित खोजीकार्यको क्रममा राती प्रहरीले केहीलाई नियन्त्रणमा लिएको र खुकुरी प्रहारमा संलग्न अन्य अभियुक्तको पहिचान भएपछि खोजीकार्य तिब्र पारिएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बेनीअनलाइनलाई बताउनुभयो ।
प्रनाउ कुँवरले संलग्नलाई नियन्त्रणमा लिएपछि विवरण सार्वजनिक गर्ने बताउनुभयो । ‘घटनास्थलमा रहेका यूवाहरूको समुह करिब ८-१० जनासम्म रहेको देखिन्छ, दुबैतर्फका यूवाहरु बिचको झगडामा खुकुरी प्रहार भएको थियो’ प्रनाउ कुँवरले भन्नुभयो ।
घटनामा संलग्न र पहिचान भएकाहरुको सम्भावित क्षेत्रमा खोजीकार्य तिब्र पारिएको छ । घटनामा संलग्नलाई पक्राउ गर्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ । प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको घटनामा संलग्नको घटनालगत्तै खोजीकार्य सुरु भएको थियो ।
घटनाको सूक्ष्मरूपमा अनुसन्धानका लागि प्रहरीले साधा पोशाकमा समेत विषेश टोली परिचालन गरेको छ । घटनास्थल तथा अनुसन्धानका प्रनाउ कुँवरको नेतृत्वको टोली नै खटिएको छ । घटनामा मृतकका साथी बेनी नपा–६ अथुङ्गेका अनुराग शाहीको समेत हातमा चोट लागेको थियो । घाईते शाहीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।
संलग्नहरु २०–३० वर्ष उमेर समूहका रहेका अनुमान गरिएको छ । झगडामा संलग्न दुवै समुह बिच पूरानो रिसिबी समेत थियो । गएको माघसंक्रान्ति मेलामा समेत दुबै यूवा समुह बिच कुटाकुट समेत भएको थियो ।