बेनी नगरपालिका-९,तोरिपानीकी १९ बर्षिया मिना परियार बेपत्ताको घटना थप रहस्यमय बनेको छ । घरबाट हराएको करिब एक महिना वितिसक्दा पनि प्रहरीले कुनै कुनै ‘क्लू’ फेलापारेको छैन भने परिवार चिन्तित छन् ।

गएको पुस १६ गते राती अचानक घरबाट सम्पर्कविहिन भएकी मिनाको खोजीकार्यमा जुटेको प्रहरी र आफन्तले अहिलेसम्म फेला पार्न नसकेपछि नियोजित रुपमा नै अपहरण वा कुनै प्रलोभनमा गायब बनाएको हुनसक्ने भन्दै परिवारले खोजीकार्यलाई तिब्रता दिन याचना गरेका छन् ।

घरबाट निस्किने बेलामा मिना ढोका बन्द गरी झ्यालबाट गएको देखिन्छ ।मिनाका बारेमा परिवारका सदस्यले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार परिवारमा झगडा भएर घरबाट निस्किएको नभई कोहीले प्रलोभनमा लगेर गएको केही तथ्यहरूबाटै अनुसन्धान गर्न परिवारको माग छ ।

बेपत्ता मिनाको सोही दिन राती ९ः४९ बजे गाउँका एक यूवासँग प्रेम सहित विभिन्न विषयमा कुराकानी भएको देखिन्छ । मिना र यूवा बिचको च्याटका गतिविधि नै संकास्पद देखिएपछि प्रहरीले समेत अनुसन्धानका लागि यूवालाई सोझपुछ गरेको छ ।

फोनमा केटा साथीसँग बोलेको र म्यासेन्जरमा कुराकानीपछि सोही दिनदेखि मिना बेपत्ता भएको र मोवाइलको अन्तिम लोकेशन तिप्ल्याङ र हिस्तान आसपासमा देखिएको परिवार स्रोतले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।बेपत्ता मिनाका आफन्तले समेत किटानी जायरी दिएका छैनन् ।

छोरीको अवस्था पत्ता नलागेकोमा ५९ बर्षिय जुठे दमाइ निराश छन् । ‘हामी बुढाबुढी कतै जान सकिदैन, खोजीकार्यमा सम्बन्धित निकायको सहयोगको पर्खाइमा छौ’ दमाईले भन्नुभयो । उहाँले खोजीकार्यमा अहिलेसम्म कुनै पनि प्रगति नभएको बताउँदै सामान्य परिवारको भएकाले बेवास्ता वा चासो नदेखाएजस्तो लागेको बताउनुभयो ।

परिवारका सदस्य, आफन्त, शुभचिन्तकले नियमित जाने स्थान तथा वनजंगल, खोलानाला र विभिन्न स्थानमा समेत व्यापकरूपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेपछि झनै चिन्तित छन् । यो घटना निकै गम्भीर भएकाले मोवाइलको अन्तिम लोकेशन आसपासका क्षेत्र र अन्तिम समयसम्म कुराकानी गरिरहेका यूवालाई नै थप निगरानीमा राखेर अनुसन्धान गर्न पीडित पक्षले माग गरेका छन् ।

Leave a Reply