म्याग्दीको प्रसिद्ध धार्मिकस्थल बेनी नगरपालिका-९ गलेश्वरधाम बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र गलेश्वर पुलस्त्य पुहल आश्रमको साढे २ लाखको लगानीमा गलेश्वर बजार प्रवेशद्धारदेखि राहुघाट पुलसम्म ६ वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।

शुक्रबार गलेश्वर प्रहरी चौकीमा आयोजित कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका संरक्षक एवम् प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्घाटन गदैं अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरणका साथै गलेश्वरमा हुने अनधिकृत क्रियाकलापमाथि नियन्त्रण गर्न सघाउ पुग्ने बताउनुभयो । उहाँले जडानसँगै नियमित मर्मत तथा आवश्यकता परेका स्थानमा थप गदैं जानुपर्ने, समुदायस्तरबाट समेत संरक्षणका कार्यहरु गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा बेनी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष चक्र केसीले गलेश्वर बजार क्षेत्रको सुरक्षाका लागि सिसीटिभी क्यामेरासँगै माथिल्लो क्षेत्रमा प्रहरीको अस्थायी पोष्ट आवश्यकता रहेकोमा जोड दिनुभयो। प्रहरी नायव उपरीक्षक मदन कुँवरले आपराधिक गतिविधिको निगरानी गर्न यस अभियान गरी शान्ति सुरक्षा कायम गर्न आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो ।

म्याग्दीभित्र जडान गरिएको सिसिटिभी क्यामेराका कारण प्रहरीलाई अनुसन्धानमा सहज भएको बताउँदै मर्मतसम्भारमा समेत स्थानीय समुदायले समेत उचित चासो दिनुपर्ने बताउनुभयो । प्रहरीको अनुसन्धानमा घटना घटिसकेपछि सम्बन्धित घटनाबारे सिसिटिभी क्यामेराको रेकर्डमार्फत अध्ययन अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउनसमेत सहज भएको प्रनाउ कुँवरको भनाई छ ।

गलेश्वरमा यसअगाडी सडक बत्ती जडान भइसकेको छ भने मन्दिरभित्र कोषले करिब ७ बर्ष अगाडी नै सिसीटिभी क्यामेरा जडान गरेको थियो । सिसिटिभी क्यामेरा जडान कार्यक्रमको अध्यक्षता कोषका अध्यक्ष माधबप्रसाद रेग्मी, सञ्चालन सदस्य सचिव बलबहादुर खत्री, स्वागत गलेश्वर पुलस्त्य पुहल आश्रमका अध्यक्ष ज्ञानेन्द्र सुबेदी, आर्थिक प्रतिवेदन कोषका कार्यालय प्रमुख राम बानियाँले गर्नुभएको थियो ।  

Leave a Reply