नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन देशका लागि अभिसाप रहेको बताएका छन् । नेकपा (एमाले) म्याग्दीको दशौं जिल्ला अधिवेशनको शुक्रबार सदरमुकाम बेनीमा उद्घाटन गदैं महासचिव पोख्रेलले वर्तमान सरकार इतिहासकै कमजोर र राष्ट्रियतालाई ध्यान नदिई सत्ता जोगाउन विदेशीसामु लम्पसार परेको आरोप लगाएका छन् ।

‘यो सरकार देशका लागि कुनै पनि हिसाबले हितकर छैन, अहिलेको सरकारकै कारण देश संकटमा परेको छ’ महासचिव पोख्रेलले भने । उनले वर्तमान सरकारका प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा देशले के गुमाउनुपर्नेको भन्ने चिन्ता हुने गरेको बताए ।

नेकपा एमालेको नेतृत्व गरेको सरकारले भारतीय नाकाबन्दीको सामाना गदैं स्वाधीनता, स्वाभिमान, राष्ट्रहितको पक्षमा एमाले खरो उत्रिएको स्मरण गदैं गठबन्धन सरकारले विदेशीसामु नेपालीको शीर झुकाउने काम गरेको बताए ।

महासचिव पोख्रेलले नाकाबन्दीको सामना,चीनसँग व्यापार, पारवहन सम्झौता गदै भारतसँग बषौंदेखि नसुल्झिएका समस्या सुल्झाउने कुरामा नेतृत्व गरेको अवस्थामा अहिलेको सरकारले भारतको अनुकुल हुने गतिविधिमा केन्द्रित भएको आरोप समेत लगाएका थिए।

‘अहिलेको कमजोर अवस्था गठबन्धनको सरकारकै कारण उत्पन्न भएको हो,एमाले सत्ता बाहिर भएपनि अन्तर्राष्ट्रिय फोरमहरुमा जनताको पक्षमा,राष्ट्रिय हितको एजेण्डामा निरन्तर अडान लिइरहेको छ’ महासचिव पोख्रेलले भने ।

उनले मुलुक बनाउने एजेण्डा बोकेको पार्टी सत्ता बाहिर हुदाँ अहिले जनताले दुख पाएको बताए । महासचिप पोख्रेलले वर्तमान सरकारले भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएको आरोप समेत लगाए ।

उनले सुन तस्करसँगको उठबसका कारण आर्थिक संकट देखिएको र अहिले देशमा लगानीको वातावरण नबन्दा विदेश पलायनको दर उच्च रहेको बताए । देश बर्बाद हुनबाट जोगाउन गठबन्धन सरकारलाई जनताले विस्थापित गर्नुपर्ने महासचिव पोख्रेलको भनाई छ ।

नेकपा एमालेको सरकार अहिले देशको लागि अपरिहार्य भएको बताउँदै महासचिव पोख्रेलले छिमेकी राष्ट्र चिनसँगको सम्बन्धलाई कमजोर बनाउने प्रयास गरेको बताए ।उनले नेकपा एमालेको सरकारले तीनै तहका सरकारलाई विनियोजन गरेको बजेटलाई कटौती गर्ने गरेको बताए ।

देशैभरीका स्थानीय तहमा निर्माणधिन अवस्थामा रहेका अस्पतालको शिलन्यास सहित बजेट विनियोजन गर्दा अहिलेको सरकारले बजेट घटाएर अलपत्र पारेको बताए । उनले नेपालमा एमालेको सरकारको पालामा भएका काम र अहिले गठबन्धनको सरकारको कामबाटै जनता प्रष्ट भएको बताए ।

जिल्ला अधिवेशनमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल लगायत केन्द्रिय नेता, गण्डकी प्रदेशका नेताको उपस्थिती रहेको छ ।अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधिले भाग लिएका छन् ।

अधिवेशनमा भाग लिनका लागि जिल्लाका ४५ वटै वडाबाट आएका प्रतिनिधिसहित बेनीबजार परिक्रममा समेत गरिएको थियो । अधिवेशनको अध्यक्षता एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवाल, स्वागत उपाध्यक्ष बालकृष्ण सुबेदी र सञ्चालन सचिव सुरत केसीले गरेका छन् । जिल्ला समन्वयको सभाहलमा अधिवेशनको उद्घाटन सकिएपछि शनिबार बन्द सत्रमार्फत नयाँ नेतृत्व चयन हुने छ ।

 

Leave a Reply