नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएमा सहकार्य गर्न सकिने बताएका छन् । वर्तमान सत्ता गठबन्धन असफल भइसकेको र देशका लागि समेत घातक भएकाले कांग्रेस र एमालेको राजनीतिक सहकार्यका लागि अहिलेको गठबन्धन बाधक रहेको बताए ।

नेकपा (एमाले) म्याग्दीको दशौं जिल्ला अधिवेशनको उद्घाटनका सहभागि हुन म्याग्दी आएका महासचिव पोख्रेलले शनिबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा गठबन्धनको नाममा तेस्रो हैसियत भएको दल माओवादी केन्द्रले सत्ताको नेतृत्व गरेको बताए ।

‘सत्ता जोगाउन सरकारले भारतसँग गम्भीर सम्झौता गरेको छ, भारतीय दुताबासबाट सिधै २० करोड खर्च गर्नसक्ने परियोजना सञ्चालन राष्ट्रघाती छ’ महासचिव पोख्रेलले भने ।

उनले भारतीय दुताबासबाट २० करोडको परियोजनाको नाममा राष्ट्रबादीमाथि प्रहार र भारतीय हस्तक्षेपलाई गठबन्धन सरकारलको बैधानिक अनुमति भएको तर्क गरे । उनले नेकपा एमालेसँग सहकार्यको बाहनामा नेकपा माओवादी केन्द्रले धोका दिएको समेत बताए ।

‘एमालेले कांग्रेसँगको संवादलाई बन्द गरेको छैन,‘कांग्रेसले नै अग्रसरता देखाएमा हामी राष्ट्रको स्वाधीनता, स्वाभिमान, राष्ट्रहितको पक्षमा सम्झौता नगर्ने गरी सहकार्यका लागि तयार छौ’महासचिव पोख्रेलले भने । उनले सत्ताका लागि अहिलेका दलहरूसँग अनावश्यक सम्झौता गर्ने पक्षमा भने नेकपा एमाले नरहेको प्रष्ट पारे ।

महासचिव पोख्रेलले उत्पादन नै नभएको १० हजार मेगावाट विद्युत बिक्री गर्ने सम्झौता हल्ला मात्रै भएको बताए । महासचिब पोख्रेलले वर्तमान सरकारले भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक बनेकाले सरकार असफल भइसकेको दावी समेत गरेका छन् ।

उनले राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस, माओवादी लगायत गठबन्धन दलका अन्य पार्टीका जनप्रतिनिधिले समेत एमालेका उम्मेदवारलाई सबै प्रदेशमा भोट हालेको अवस्थामा अव एमालेकै आवश्यकता रहेको प्रष्ट भएको समेत बताए ।

Leave a Reply