पोखरा महानगरपालिकाको एक वडामा बाँदरले समस्या दिन थालेपछि रुख काट्ने अभियान सुरु भएको छ। पोखरा महानगरपालिका वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर आतङ्कबाट जोगिन ‘मेरो रुख म काट्छु’ अभियान सुरु गरेका छन्।
पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित रहेको हुँदा त्यसबाट बच्नका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को निती तथा कार्यक्रममा बाँदर नियन्त्रण सम्बन्धी निति पास गरेको भन्दै वडाध्यक्ष पाण्डेले सूचना जारी गर्दै ‘मेरो रुख म काट्छु’ अभियान सुरु गरिएको बताएका छन्।
वडाध्यक्ष पाण्डेद्वारा जारी सूचनामा आ–आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउन आग्रह गरिएको छ। साथै आ–आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन वडा कार्यालयको तर्फबाट वडावासीलाई पनि आग्रह गरिएको छ। nagariknews.com













