एक सय छत्तिस बर्ष अगाडी निर्माण गरिएको म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाटमा म्याग्दी नदीमाथिको झोलुङ्गे पुलको पुननिर्माण सुरू भएको छ । स्थानीय प्रविधिबाट निर्मित नेपालको पहिलो झोलुङ्गे पुलको जिर्ण भएपपछि नगर प्रबक्ता एवम् वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बुधबार शिलन्यास गरेका छन् ।

कुल ३४ लाख ९८ हजार लागतमा पुननिर्माण गर्न लागिएकोमा संघीय सरकारको क्षेत्रगत झोलुङ्घे पुल सुधार कार्यक्रमबाट ८०, बेनी नगरपालिका १३ प्रतिशत र समुदायबाट २ प्रतिशत लागतमा सम्पन्न हुने मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले  बताइन् । बेनी नगरपालिकाले गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग लिएको छ ।

‘मर्मत गर्दा समेत दिगो हुन नसकेपछि पुननिर्माण गरिएको हो, पूरानो लठ्ठा सहितको एतिहाँसिक विवरण समेत पुलआसपासमै राख्छौ’ वडा अध्यक्ष श्रेष्ठले भने । तत्कालिन समयमा म्याग्दी जिल्लाका विभिन्न खानीबाट निकालिएको काँचो फलामलाई गोलमा तताएर, कुटेर साङ्ले लठ्ठाहरूको संरक्षणका लागि स्थानीयबासी समेत सक्रिय छन् ।

‘पुरानो शैलीमा मर्मत गरिन्छ, नेपालकै पुरानो भएकाले संरक्षण आवश्यकता थियो’ मंगलाघाट झोलुङ्गे पुल उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर छन्त्यालले भने ।

उनले सम्ुदायस्तरबाट नियमित अनुगमन तथा आवश्यकता परेमा श्रमदान सहितका कार्यहरुमा समेत सक्रिय हुने बताए । विसं १९४४ मा निर्माण गरिएको पाति चढाउने डिल र मंगलाघाट जोड्ने झोलुङ्गे पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम समेत बढेको अवस्थामा मर्मत समेत गरिएको थियो ।

मर्मत गरिएपनि लामो समय टिकाउ हुन सकेन ।बागलुङको गलकोटका स्व.लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुम गाउँका स्थानीयवासीको पुलमा काम गर्ने सीपलाई प्रयोग गरी सो पुल बनाएका थिए। तत्कालीन समयमा माथि र तल गरी दुईवटा साङ्ले लठामा फलामको पाता राखेर एउटा काठको फल्याक मात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको स्थानीय अगुवा एवं ज्येष्ठ नागरिक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले बताए।

उनले कुनै जमानामा म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाटमा म्याग्दी नदीमाथि निर्मित झोलुङ्गे पुल, म्याग्दी र मुस्ताङका दुर्गम बस्तीबाट हप्ता दिन पैदल हिँडेर नेपालका विभिन्न स्थान र भारतसम्म आवत–जावतका लागि प्रयोग हुने गरेको बताए ।

पुलमा प्रयोग भएको साङ्ले लठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएका हुन्। गाउँ गाउँबाट श्रमदान गर्न ठुलो संख्यामा आएकाहरूबाट खुल्ला आकाशमा भोक भोकै काम गरेको समेत उनले अनुभव सुनाए ।

विसं २०१४ मा म्याग्दीको बाबिया चौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा झोलुङ्गेलाई हटाएर झोलुङ्गे पुलको रुपमा विकास गरिएको थियो। पुरानो र ऐतिहासिक महत्त्व बोकेको यो पुलको काठ कुहिएको र जालीसमेत तितरबितर हुन थालेपछि स्थानीयले चन्दा संकलन तथा देउसी भैलो सहित विभिन्न माध्यमबाट समेत मर्मत गरेका थिए ।

सडक सञ्जालको विस्तारसँगै ’दुर्भाग्य, खोला त¥यो, लौरो बिर्सियो’ भनेजस्तै जीर्ण र प्रयोगविहीन भएकाले नयाँ पुस्तालाई समेत जानकारी हुने गरी अभिलेखसहित पूरानो तस्वीर सहितको विवरण समेत राखिने छ । मोटरबाटो बनेपछि पनि नियमित प्रयोगमा आउने गरेको थियो ।

नेपालको झोलुङ्गे पुलको इतिहास
झोलुङ्गे पुल सम्बन्धि लामो अनुभव तथा अध्ययन र अनुसन्धान गरेका केबी मसालका अनुसार नेपालमा झोलुङ्गे पुल राख्ने अभियान राणा प्रधानमत्री चन्द्रशमसेरले वि.सं.१९६० मा नै गरेका थिए भने देवशम्शेरको शासन कालदेखि झोलुङ्गे पुलको निर्माण गर्न थालिएको थियो । विसं १९६४ मा हेन्डरसन कम्पनीले पहिलो नमुना पुलको रूपमा सुनकोशी नदीमा पुल बनाएको थियो ।

पछिल्लो समय ५० वर्ष अगाडिसम्म ५० वटा फलामे पुलहरूमा जोन एम हेन्डरसन एण्ड कम्पनी लिमिटेडको नाम राखिएको छ । चोभारको पुल, मस्र्याङदीको तार्कुघाटको पुल, धाडिङको आँखुखोलाको पुल आदिमा उक्त कम्पनीको नाम लेखिएको देखिन्छ ।श्री ३ चन्द्र शमसेरको पालामा वि.स. १९८५ मा रूकुमको चौरजहारी र जाजरकोटको मटेला जोड्ने भेरी नदीमा पहिलो झोलुङे पुल निर्माण भएको हो । भेरी नदीको पुल बृटिसहरूको सहयोगमा स्कटल्याण्डको इञ्जिनियरद्वारा निर्माण भएको हो ।

सन् १९६० मा डा हेगनको अगुवाईमा नेपालमा झोलुङ्गे पुल निर्माणको थालनी भएपछि क्रमश नेपालमा झोलुङ्गे पुलहरू निर्माण हुँदै आएको छ । तर मटेलाको पुल बन्नुभन्दा पहिले वि.सं.१९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरी म्याग्दीको बेनीमा पहिलो झोलुङ्गे पुल निर्माण भएको थियो ।

स्थानीय मजदुरले फलाम पिटेर लठ्ठा बनाई स्थानीय तवरले निर्माण भएको बेनीको मंगलाघाट र हाँडेभिर जोड्ने म्याग्दी खोलाको झोलुङ्गे पुल नेपालको पहिलो पुल मानिन्छ । अहिले यो पुलमा पर्यटकहरू पुग्ने अवलोकन गर्ने, फोटो खिच्ने गर्दछन्। यो ऐतिहासिक पुल बाग्लुङ गलकोटका स्व. लालप्रसाद शेरचनले म्याग्दीको रूम गाउँका मजदुर प्रयोग गरी काँचो फलामलाई पिटेर लठ्ठा र पाता बनाई म्याग्दी नदी वारपार गर्न मिल्ने झोलुङ्ग बनाएका थिए ।

Leave a Reply