गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदबाट पारित भएको गण्डकी प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्था नियमावलीले निजी सवारी साधनको पनि आयु तोकेको छ । नेपालमा अहिलेसम्म निजी सवारी साधनको आयु नतोकिइएको अवस्थामा गण्डकीले भने २५ वर्षपछि अनिवार्य पत्रु कायम हुने व्यवस्था ल्याउन लागेको हो । संघीय सरकारको सवारी तथा यातायात व्यवस्था ऐनमा पनि निजी सवारी साधनको हकमा कुनै सम्वोधन गरेको छैन ।

सार्वजनिक सवारीको हकमा भने पेट्रोलियम पदार्थबाट चल्ने सवारी वीस वर्षमा पत्रु कायम हुने र अनिवार्य लगत कट्टा गर्नुपर्ने संघीय ऐनमै व्यवस्था छ । तर, गण्डकीमा भने अब निजी सवारी साधनको पनि आयु तोकेर पत्रु कायम गरी लगत कट्टा गर्नुपर्ने व्यवस्था गरिएको नियमावली राजपत्रमा प्रकाशन हुने चरणमा छ ।

अब निजी सवारी साधन २५ वर्षमा अनिवार्य पत्रु कायम गरी लगत कट्टा गर्नु पर्नेछ । अहिलेसम्म दुई पांग्रे होस् वा चार पांग्रे निजी सवारी साधनले जतिसुकै वर्ष पनि चलाउन पाउने व्यवस्था हटाउँदै आयु तोकिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थापन महाशाखा प्रमुख टीकाराम पौडेलले बताए । यो अहिलेसम्म नेपालमा नभएको व्यवस्था गण्डकीमा लागु गर्ने कि नगर्ने भन्ने विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीसहित बसेर छलफल गरिएको पौडेलको भनाइ थियो ।

यो व्यवस्था कायम गर्न विभिन्न देशमा भएका अभ्यास र अनुभवलाई पनि हेरिएको थियो । भारतमा डिजेल गाडीको १० वर्ष र पेट्रोलबाट चल्ने १५ वर्ष हुने व्यवस्था छ । सिंगापुरमा जुनसुकै गाडीको आयु ५ वर्ष तोकिएको उने पौैडेलकोे दाबी छ ।

नेपालमै पहिलोपटक निजी सवारी साधनको आयु तोकिएको यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्यालले बताए । विद्युत सार्वजनिक सवारी साधनको भने ३० वर्षमा पत्रु गर्नु पर्ने व्यवस्था गरिएको छ ।अब पत्रु कायम हुने ट्याक्सीको लगतकट्टा गरेर अर्को दर्ता गर्दा अनिवार्य रुपमा इलेक्ट्रिक हुनुपर्ने गरी मापदण्ड बनाउने तयारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीले बताए ।

Leave a Reply