म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर क्षेत्रलाई फोहोर रहित बनाउने उद्देश्यले स्थानीयबासीले सरसफाई अभियान सुरु गरेका छन् । बेनी–जोमसोम सडकखण्ड तथा पैदलमार्ग, गलेश्वर बजारको सुन्दरतालाई जोगाउन स्थानीय गलेश्वर आमा समुह, स्थानीय संघसंस्थाको सक्रियतामा बृहद् सरसफाई अभियान सुरु गरिएको हो ।

गलेश्वरको प्रबेशद्धारदेखि राहुघाट पुलसम्मको क्षेत्रको सार्वजनिक क्षेत्रमा फोहोर फाल्न समेत निषेध गरिएको छ भने प्रत्येक साता सामुहिक सरसफाई गरी सफा र सुन्दर बनाउने गलेश्वर आमा समुहले जनाएको छ । आमा समुहको अगुवाइमा भएको सरसफाई कार्यक्रममा स्थानीय संघसंस्थाले समेत सघाइरहेको आमा समुहकी अध्यक्ष फुलकुमारी रोकाले बताउनुभयो ।

गएको साता सडकखण्ड आसपासमा जम्मा भएको फोहोर ब्यवस्थापन तथा सडक सफाई गरिएको थियो । आमा समुहकी सहसचिव नविना कार्कीले समुदायस्तरमा भइरहेको अभियानमा सघाउन अनुरोध गदैं बाहिरी जिल्लाबाट आउने यात्रु,भक्तजनलाई समेत प्लास्टिकजन्य सामग्री र अन्य फोहोर जथाभावी नफ्याँक्न आग्रह गरिएको थियो ।

यो अभियानले गलेश्वर क्षेत्रको सुन्दरतालाई जोगाउने र बाहिरी जिल्लाबाट आउने पर्यटकमा समेत सकारात्मक सन्देश प्रवाह हुने स्थानीयले बताएका छन् । स्थानीयबासीले स्रोत जुटाएर सडकमार्ग सहित आसपासका क्षेत्रमा फोहोर राख्ने टोकरी अनिवार्य गर्ने तयारी समेत गरेका छन् ।

यो अभियानमा गलेश्वरमा रहेको शसस्त्र प्रहरी बल, प्रहरी चौकीबाट समेत सहयोग भइरहेको छ । यस अगाडी गलेश्वर बजारमा गलेश्वर शिवालय क्षेत्र विकास कोष र गलेश्वर पुलस्त्य पुहल आश्रमको लगानीमा गलेश्वर बजार प्रवेशद्धारदेखि राहुघाट पुलसम्म ६ वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो । गलेश्वर बजारमा सडक बत्ती समेत रहेको छ ।

Leave a Reply