म्याग्दी, २४ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्लेबाट भगवती जोड्ने सडक कालोपत्र भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र भएको हो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इन्जिनियर सञ्जय सुवेदीले पाँच किलोमिटर डिबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान गर्ने काम सकिएको जानकारी दिए । “सात मिटरको चौडाइका दरले कालोपत्र भएको छ”, उनले भने, “उकालो र बस्तीभित्र तीन ठाउँमा पाँच सय मिटर ढलान भएको हो ।”

गत जेठको अन्तिम सातादेखि सुरु भएको कालोपत्रको काम गत महिना सकिएको थियो । इन्जिनियर सुवेदीका अनुसार डिलतर्फ खम्बा गाड्ने र सडक छेउछेउमा साइडबार राख्ने काम जारी छ ।

“निर्माण व्यवसायीले काम सकेर भुक्तानी मागेको छ । सडकको नापजाँच र अन्तिम मूल्याङ्कनको चरणमा छ”, कार्यालयका सूचना अधिकारी अर्जुन शर्माले भने ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक नमूना सडक कार्यक्रम’अन्तर्गत विसं २०७६ देखि सुरु भएको आयोजनाको निर्माण कम्पनीसँग १८ करोड ४९ लाख आठ सय ३८ मा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७८ जेठ २४ गते सम्पन्न गर्ने लक्ष्य थियो । कोरोना महामारी, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सामाजिक समस्यालगायत कारणले ढिलाइ भएको निर्माण कम्नीका इन्जिनियर रामु कँडेलले बताए । उनका अनुसार राहुघाटबाट रघुगङ्गा माविको भवन अगाडिसम्मको करिब तीन किलोमिटर सडक आयोजनाबाट हटाइएको छ ।

गलेश्वरबाट बगैँचासम्मको सडक पहिराको जोखिम र बगैँचाबाट रघुगङ्गा माविसम्मको सडक राहुघाट जलविद्युत् आयोजना प्रभावित क्षेत्रअन्तर्गत पर्ने भएकाले आयोजनाबाट हटाइएको सूचना अधिकारी शर्माले बताए ।

उक्त सडक स्तरोन्नति भएपछि पिप्ले, भगवती र बेगखोलाको तीन वडाका तीन हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित भएको स्थानीय बताउँछन् । यसैबीच, सडक कालोपत्र भएपछि भाडा समायोजन गर्न स्थानीयवासीले माग गरेका छन् ।

सदरमुकाम बेनी जान–आउन, कृषि उपज निकासी, खाद्यान्न, निर्माण सामग्रीलगायत दैनिक उपभोग्य सामान ढुवानीका साथै बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज भएको छ । विसं २०६६ मा मार्ग खोलिएको यो सडक सामान्य मर्मत गरेर यातायातका साधन सञ्चालन हुँदै आएको थियो । जीर्ण सडकमा जोखिम र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

सडकको मङ्गलबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले अनुगमन तथा निरीक्षण गरे । निरीक्षणका क्रममा मन्त्री जुग्जालीले एक निर्वाचन क्षेत्र, एक सडक आयोजनाका अधिकांश योजना यसै वर्ष सकिने अवस्थामा रहेको बताए ।

रघुगङ्गा गाउँपालिका–१ बेगका वडाध्यक्ष बिलबहादुर फगामी र स्थानीयवासीले भगवतीबाट बेगतर्फको सडक स्तरोन्नतिको लागि अर्को प्याकेजको योजना सुरु गर्न मन्त्री जुग्जालीसँग आग्रह गरे ।

Leave a Reply