बेनी नगरपालिका–८जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरे। करिब २ सयको संख्यामा रहेका बाँदरले छानामा राखेको फर्सी समेत छोडेनन् । बाँदर थपाउन खोज्दा उल्टै आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित छन् । बालबालिकालाई समेत आक्रमण गर्ने चिन्ताले स्थानीयलाई सताइरहेको छ ।

पछिल्लो एकसाता यता बेनी–गलेश्वर सडकखण्ड आसपासका क्षेत्रमा ठूलो संख्यामा भेटिने बाँदर कतैबाट ल्याएर छोडेजस्तै देखिने स्थानीयले बताएका छन् । ‘मान्छेलाई नै आक्रमण गर्न खोज्छन्, हाम्रो क्षेत्रमा देखिने बाँदर होइनन्, गाडीमा ल्याएर छोडेजस्तै देखिन्छ’जलेश्वरका बरुवालले भने । उनले दैनिकजसो बाँदरको उपद्रो नियन्त्रणका लागि सरोकारवाला निकायलाई समेत सहयोगको अनुरोध गरेका छन् ।

विगतमा देखिने बाँदर नभई कुनै सहरी क्षेत्रमा र धेरै मान्छेको हुलमुलबाट ल्याएको जस्तै देखिने बरुवालले बताए । लखेटेका बाँदर फेरी बस्ती आसपासमा आउने गरेको छ । समूहमा हिँड्ने र बालीनालीलाई सेकेन्डमै सखाप पार्ने हुँदा किसान बाँदरबाट आक्रान्त बनेका छन् । जलेश्वर र गलेश्वर क्षेत्रमा देखिएका बाँदरको चरित्र र आनीबानीबारे अनुसन्धान गर्न स्थानीयबासीले जनप्रतिनिधिलाई समेत अनुरोध गरेका छन् । पहिले जङ्गलमै भुल्ने बाँदर बस्तीतिर सरेपछि सर्तकता अपनाउनुपर्ने डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ ।

फलफुलको सिजनका बाँदर बस्तीतर्फ आउने र आंतक मच्चाउने गरेपनि बाँदर व्यवस्थापनका लागि ठोस नीति र कार्यक्रम तय गर्नु आवश्यक रहेको छ । धपाउने, लखेट्ने परम्परागत विधिले मात्र अब बाँदर नियन्त्रण सम्भव नहुने डिभिजन बन कार्यालय म्याग्दीका कर्मचारीको भनाई छ । म्याग्दीका बस्तीमा बाँदरको आंतकले खेतीपाती र फलफुलको सिजनमा किसान चिन्तित हुने गरेका छन् ।

Leave a Reply