पर्वतको जलजला गाउँपालिका वडा नं. ६ शालिजाको हम्पाल लेक क्षेत्रमा भिषण आगलागी भएको छ । स्थानीय पालतखर्क सामुदायिक वनमा दिउँसो तीन बजेदेखि आगो लागेको हो । खडेरीको बेला लागेको आगो व्यापक मात्रामा फैलिएको जलजला गाउँपालिका वडा नं. ६ शालिजाका वडा अध्यक्ष बलबहादुर पुनले जानकारी दिनुभयो ।
अगाालागीका कारण सयौ हेक्टरको बनक्षेत्र नष्ट भैसकेको छ । सामुदायिक वन जलिसकेर आगो हम्पालको लेकतर्फ बढेको अध्यक्ष पुनले जानकारी दिनुभयो । स्थानीयवासीहरुले सजिलो क्षेत्रतर्फको आगो नियन्त्रणमा लिएपनि भिरमा लागेको आगो भने माथितर्फ फैलदै गएको छ । उक्त स्थानमा निभाउन सकिने अवस्था नरहेको अध्यक्ष पुनले बताउनुभयो ।
आगो हम्पालको लेकतर्फ बढिरहेकोले अझै ठुलो मात्रामा सरकारी वनक्षेत्र नष्ट हुने अनुमान गरिएको छ । बस्ती भन्दा माथि रहेको जंगलमा आगो लागेका कारण तलपट्टि रहेको बस्ती भने अहिलेसम्म सुरक्षित रहेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले शालिजामा रहेको प्रहरी चौकी र स्थानीयवासीको पहलमा आगो नियन्त्रणमा लिने प्रयास भैरहेको बताउनुभयो ।
उहाँले मानव बस्तीतर्फ भने खतरा नरहेको जानकारी दिनुभयो । प्रहरीका अनुसार चुरोट पिउने युवाहरुले आगो लगाएको हुनसक्ने अनुमान गरिएको छ । थप अनुसन्धान भैरहेको भुसालले बताउनुभयो ।

Leave a Reply