म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा अवस्थित अर्जुन माध्यमिक विद्यालयमा पछिल्लो केही समययता पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर वृद्धिका लागि समुदायस्तरबाट प्रशंशनीय कामहरु हुँदै आएका छन् ।

वि.सं २०१६ सालमा स्थापना भएको यस विद्यालयमा भौतिक पूर्वाधारहरु थपिनुका साथै शैक्षिक गुणस्तरवृद्धिका लागि पछिल्लो समय समुदायस्तरबाट समेत उत्साहजनक सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

विद्यालयका भूतपूर्व प्रधानाध्यापक समेत रहनुभएको विव्यस अध्यक्ष कार्कीका अनुसार विद्यालयको थप चार कोठे आरसिसि भवनको निर्माण कार्य पूरा भएको छ भने स्थगित भएको खानेपानी योजना सुरु गरि एक महिनाको छोटो अवधिमा नै ट्यांकी र धाराहरु निर्माण गरी विद्यालयमा सफा र स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ ।

त्यसैगरी सिमेण्टेड वाल निर्माण गरिनुका साथै भवनहरुमा रंगरोगन,कक्षा कोठामा फलामका फर्निचर निर्माण,विद्यालय नर्सको व्यवस्था,आइसिटी अन्तर्गत स्मार्ट बोर्डको व्यवस्था,पुस्तकालय र विज्ञान कक्षको व्यवस्था, सरस्वती मन्दिर निर्माण,विद्यालय गेट निर्माण,मञ्च निर्माण आदि पूर्वाधारहरुको व्यवस्था गरिएको छ ।

त्यसैगरी प्रत्येक वर्षको असोज १२ गते विभिन्न व्यक्तिहरुले स्थापना गरेको स्मृति छात्रवृत्ति वितरण,शैक्षिक स्तर वृद्धिका लागि यस वर्षदेखि कक्षा १० का विद्यार्थीहरुलाई छात्रवासमा वस्ने व्यवस्था,विद्यालयको वार्षिकोत्सव र अभिभावक दिवस यस वर्षदेखि सरस्वती पूजाका दिन गर्ने तयारी,विद्यालयको अक्षयकोष वृद्धि गरी रु २० लाख मुद्धती खातामा राख्ने काम,शैक्षिक स्तर वृद्धिका लागि समय समयमा अभिभावक,शिक्षक र विद्यार्थीबिच अन्तरक्रिया जस्ता कार्यहरु विद्यालयले गरेको छ ।

विद्यालयका पूर्व विद्यार्थी,शिक्षक,अभिभावक र समुदायको सहयोग र सल्लाहा लिई विद्यालयको चौतर्फी विकासका लागि आफूले प्रयास गर्दै आएको र समुदायस्तरबाट पनि पर्याप्त सहयोग प्राप्त भएको विव्यसका अध्यक्ष कार्कीले बताउनुभयो । अवको प्राथमिकता भनेको शैक्षिक गुणस्तर वृद्धि रहेको उहाँले जानकारी दिनुभयो ।

यस वर्ष फागुन २ गते परेको सरस्वती पूजा विद्यालयले भव्य रुपमा आयोजना गर्न लागेको र सोही दिन विद्यालयको वार्षिकोत्सव र अभिभावक दिवस पनि मनाइने उहाँले बताउनुभयो ।

Leave a Reply