जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गर्ने र पार्टीहरुमा रमाउने चलन अहिलेको समाजका लागि सामान्य हो । तर त्यही महत्वपूर्ण दिनलाई फरक तबरले मनाउने गर्दा पनि समाजमा राम्रो सन्देश जान्छ नै । यस्तै फरक र सकारात्मक सन्देश प्रवाह गर्ने खालको काम गर्नुभएको छ धौलागिरी माध्यमिक विद्यालय बेनी नगरपालिका–४ सिंगाका शिक्षक डण्डपाणी पौडेलले ।

पौडेलले आफ्नो ४५ औं जन्मदिनको अवसर पारेर बेनी नगरपालिका–४ थामडाँडामा रहेको भृकुटी आधारभुत विद्यालयमा रहेका बालबालिकाहरुका लागि शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । उहाँले कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई १५ हजार रुपैंया मुल्य बराबरको स्टेसनरी सामग्री प्रदान गर्नु भएको विद्यालयका प्रधानाध्यापक शेरबहादुर गुरुङले जानकारी दिनुभयो ।

डण्डपाणी पौडेलको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम तय भए पछि पुग्नु भएका बेनी नगरपालिका–४ सिंगा पौडेलचोकका सचिन स्टेसनरीका सञ्चालक राजाराम पौडेलले पनि पाँच हजार मुल्य बराबरको शैक्षिक सामग्री प्रदान गर्नुभएको गुरुङले जानकारी दिनुभयो ।

धौलागिरी माविका शिक्षक डण्डपाणी पौडेलले आफुले विद्यालयको आधारभुत शिक्षा लिएको विद्यालयलाई नै सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । केही सकारात्मक कार्य गर्ने ध्येयले जन्मदिनको अवसरमा विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको उहाँको भनाई थियो ।

Leave a Reply