पछिल्लो समय म्याग्दी जिल्ला भित्र क्रिकेटको क्रेज बढ्दै जान थालेको छ । जिल्ला क्रिकेट संघ म्याग्दीको अगुवाइमा हरेक हप्ता हुने क्रिकेट खेलका कारणले गर्दा पनि नयाँ खेलाडीहरुको समेत क्रेज बढ्न थालेको हो । बेनी नगरपालिका–१ रत्नेचौर तथा बेनी नगरपालिका–५ चुत्रेनीमा हरेक हप्ता युवाहरुले क्रिकेट खेल्ने गरेका छन् ।

जिल्ला क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविण पौडेलको अगुवाइमा सुरु भएको क्रिकेट खेलाइले अहिले निकै अगाडी बढेको छ । हाल बेनी बजारको खुल्ला मञ्चमा खेलाडीहरुकै अग्रसरतामा निर्माण भएको अभ्यास नेटमा अहिले नयाँ तथा पुराना खेलाडीहरुले अभ्यासगर्ने गरेका छन् । क्रिकेट खेल्नका लागि शनिबार चुत्रेनी पुगेका खेलाडीहरु संगै खेल्न स्थानीय वालबालिकाहरु पनि मैदान सम्म आइपुगेका थिए ।

पश्चिम म्याग्दीको दुखु घर भै बालजागृति आधारभुत विद्यालयमा अध्ययन गर्ने अपाङ्गता भएका बालक पनि क्रिकेट अभ्यास गर्न आइपुगेका थिए । सानै उमेरमा करेण्ट लागेर बायाँ हात गुमाएका बालकले एकै हातको साहाराले ब्याट समातेर अभ्यासका लागि प्रयास गरी रहेका थिए । उनलाई बलिङ गरेर साथ दिँदै हुनुहुन्थ्यो भरत धामी । सानै उमेरमा हात गुमाएका किस्मत छन्त्यालको रहर पुरा गरिदिनका लागि धामीले केही समय साथ दिनुभयो र शुरु भयो युवाहरुको क्रिकेट खेल ।

म्याग्दीको बेनीमा रहेको संघिय खाने पानी तथा ढल व्यवस्थापन आयोजनाका सवइन्जिनियर समेत रहनु भएका धामी क्रिकेट संकृतिबाटै आउनु भएको थियो । पश्चिम नेपालको कञ्चनपुरका धामी म्याग्दी आएको चार वर्ष भै सकेको थियो । तर क्रिकेट खेल्ने मौका भने अहिले जिल्ला क्रिकेट संघ गठन भए सँगै बनेको नयाँ टोलीले जुराइ दिएको सुनाउनु हुन्छ । उहाँ भन्नु हुन्छ–हरेक दिन बिहान बेनी खुल्ला मञ्चमा रहेको अभ्यास नेटमा अभ्यास गर्ने र शनिबार कहिले रत्नेचौर त कहिले चुत्रेनी पुगेर क्रिकेट खेल्ने गरेको उहाँको भनाई छ ।

सानो उमेरका बालकहरु क्रिकेट खेल्न सिक्नका लागि आइपुगेका थिए भने पाको पुस्ताका व्यक्तिहरु पनि क्रिकेट हेर्नका लागि पनि मैदान पुग्नु भएको थियो । बेनी नगरपालिका–१ रत्नेचौर, २ ज्यामरुककोट एवम् बेनी नगरपालिका–७ र ८ बेनी तथा जलजला गाउँपालिका–३ पर्वत बेनीमा बसोबास गर्ने युवाहरुको समुह नै अहिले बेनी नगरपालिका–५ चुत्रेनी तथा बेनी नगरपालिकाको रत्नेचौरमा क्रिकेट खेल्ने गरेका छन् ।

क्रिकेट खेल्ने टिममा नेपालका पश्चिम कञ्चनपुर देखि मधेश प्रदेश एवम् भारतको बिहार सम्मका खेलाडीहरु सहभागी थिए । भारत बिहारका अफ्रोज आलम, पर्सा जिल्लाका पप्पु सहानीको सहभागिता रहेको थियो । नगरपालिकाबाट खेल्न पुग्नु भएका खेलाडीहरु पनि पूर्व देखि पश्चिम मात्रै नभएर हिमाल देखि तराइ सम्मका हुनुहुन्थ्यो । हिमाली जिल्ला म्याग्दी देखि तराइको पर्सा मात्रै होइन भारतको बिहारका खेलाडी पनि हामी सँगै मिलेर खेलेका छौं–क्रिकेट खेलाडी सुरज भट्टराईले भन्नुभयो ।

शनिबार बिहान सबैले आ–आफ्नो नियमित काम सकेपछि १० बजे चुत्रेनी मैदानमा पुग्नु भएका खेलाडीहरु दुई समूहमा बाँडीएर क्रिकेट खेल्न थाल्नु भएको थियो । प्रबिण पौडेल, दिपक बिक, सुरज भट्टराई, अजय छिनाल, पवन बरुवाल, शंकर घिमिरे, सन्दिप बानियाँ, संगित मगर, हरि सुवदी। सचिन कार्की, शिशिर दगामी, हेमन्त धामी, राजेश खत्री लगायतका खेलाडीहरु अहिले नियमित रुपमा क्रिकेटको अभ्यास गर्ने र शनिबारको दिनमा खेल्ने गर्नुहुन्छ ।

युवाहरुको दुई टिम बिचको खेल चल्दै गर्दा बेनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत चन्दन सुवेदी लगायतको टोली पनि चुत्रेनी मैदान पुग्यो । युवाहरुको खेल सकिए पछि नगरपालिका र युवाहरु बीचमा पनि अर्को प्रतिस्पर्धा पनि भएको थियो । पहिलो खेल युवाहरु एक आपसमा सकिएपछि भएको नगरपालिका संगको ट्वान्टी ट्वान्टी खेलमा नगरपालिका ५७ रनले पराजित हुन पुग्यो ।

Leave a Reply