विद्यालयको औपचारिक शिक्षा (शैक्षिक गतिविधि)सँगै विद्यार्थीहरुलाई व्यावसायिक सिपमूलक तालिम दिन थालिएको छ । दैनिक रुपमा अध्ययनको साथसाथै विद्यार्थीलाई व्यावसायिक सिपको तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले जनप्रिय माध्यमिक विद्यालयले जीवन उपयोगी शिक्षाको लागि तालिम सञ्चालन गरेको हो ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सञ्चालित जनप्रिय माविले बुधवार वसन्तपञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर अक्षरारम्भ तथा लर्न–फ्राइडे कार्यक्रमअन्तर्गत जीवन उपयोगी शिक्षाको व्यावसायिक सिपमूलक तालिम सञ्चालन गरेको जनाएको छ । विद्यार्थीहरुलाई किताबी ज्ञानको साथमा जीवन उपयोगी सिप सिकाउन भन्दै व्यावसायिक सिपमूलक सम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

Adv

अब हरेक शुक्रवार कक्षा ९ का विद्यार्थीहरुलाई लर्न–फ्राइडे कार्यक्रमअन्तर्गत हाउस वाईरिङ, कपाल काट्ने र सिलाइकटाइको प्रशिक्षण दिइने विद्यालयका प्रधानाध्यापक दिवाकर सुवेदीले बताउनुभयो । तालिममा स्थानीयस्तरका प्रशिक्षकहरुबाटै विद्यार्थीहरुलाई प्रशिक्षण गराइने विद्यालयले जनाएको छ ।

प्रत्येक शुक्रवार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हाउस वाईरिङ, कपाल काट्ने र सिलाइकटाइको तालिम सञ्चालन गरिनेछ । विद्यालयस्तरमा सञ्चालित व्यावसायिक सिपमूलक जीवनपयोगी शिक्षा तालिम जिल्लामै पहिलो र नयाँ अभ्यासको कार्यक्रम हो ।

अहिले कक्षा ९ का विद्यार्थीहरुलाई लक्षित गरेर सञ्चालन गरिएको तालिम आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा पनि सञ्चालन हुनेछ । तालिममा सहभागी विद्यार्थीहरुले अध्ययनसँगै लिएको तालिमले स्वदेशमै पेशा तथा व्यवसाय सञ्चालन गर्न एवं वैदेशिक रोजगारीमा जाँदा पनि सहयोगी हुने अपेक्षा गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तनाथ सुवेदीले यसवर्ष तिहारको अवसरमा विद्यालयबाट खेलिएको देउसीभैलो कार्यक्रममा सङ्कलित रकमले सिपमूलक तालिम हाउस वाईरिङ, कपाल काट्ने र सिलाइकटाइको कक्षाहरु सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले विद्यालयले आगामी दिनमा न्यून आय भएका विद्यार्थीहरुलाई आवश्यक सहयोगको साथमा अभिभावकत्वग्रहण गर्ने, विद्यालयमा फुड तथा कपडा बैंक स्थापना गर्ने र खेलकुदलगायत अतिरिक्त र रचनात्मक क्रियाकलापहरु सञ्चालनमा जोड दिइने बताउनुभयो । अहिलेको समयमा विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा र सिपमूलक तालिम दिन आवश्यक देखिएको छ।

२००८ सालमा स्थापना भएको जनप्रिय माविमा कक्षा १ देखि १२ सम्म पढाई हुँदै आएको छ भने हाल ५ सय ५० जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । प्रावि, निमावि र माविका १८ जना दरबन्दी, १÷१ जना राहत र निजी तथा २ जना विद्यालय कर्मचारीहरुसहित कुल २२ जना शिक्षक एवं कर्मचारीहरु कार्यरत रहेको जनप्रिय मावि म्याग्दी जिल्लाकै सबैभन्दा पुरानो विद्यालय मानिन्छ ।

Leave a Reply