पहाडको टुप्पोबाट तल जमिनतिर छङ्छङ आवाज निकाल्दै बग्ने गर्छ झरना । अग्लो ठाउँबाट हुत्तिँदै खसेको पानीको छाँगोलाई नै हामीले झरना भनेर चिन्छौं । प्राकृतिक वा मानवनिर्मित छहरो नै झरना हो । कलकल गर्दै बग्ने झरना भीर तथा पहराको साहारा लिएर जमिनतिर खस्छ । छङ्छङ गर्ने आवाजसँगै झरनाको चिसो पानी ।


माथिबाट भिरालो पहाडमा लडबडी खेल्दै बगेको झरनालाई एकोहोरो हेरिरहँदा सिरको टोपी र पछ्यौरी खसेको पत्तो हुँदैन । झरनासँगै साइटसिनमा आँखा घुमाउन पाउँदा निकै आनन्द लाग्छ । अझै झरनाको पानीमा डुबुल्की मार्दा झन् मज्जा आउँछ । एकनासले माथिबाट तलतिर खसिरहने निकै सुन्दर, आकर्षक अनि मनमोहक म्याग्दीको नर्जा झरना जति हे¥यो उति हेरिरहुँ जस्तो लागिरहन्छ ।

Adv


नर्जा झरनाभन्दा माथि तोस्काटे भन्ने ठाउँ पर्दछ भने तलतिर दाँयाबाया मुना र लुलाङ गाउँ अवस्थित छ । भिरालो परेको पाखो र नर्जा ठाउँबाट भीर पहराको सहारा लिँदै बगिरहने नर्जा झरनाको फेदीमा पुग्ने हो भने धित मरुन्जेल झरनालाई हेरेर रमाउन पाइन्छ । हिमाली जिल्ला म्याग्दीमा यस्ता झरनाहरु थुप्रै छन् । कतिपय झरनाहरु वर्षायाममा मात्रै सुस्साउँछन् भने केही झरना बाह्रैमास सुस्साइरहन्छन् । त्यहीमध्येको एक हो, नर्जा झरना पनि । नर्जा झरनाको बारेमा जानकारी पाउनेहरु सायद कमै होलान् ।


घाम परेको समयमा इन्द्रेणीका रङहरु समेत देख्न सकिने यस झरनामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दै जान थालेको छ । झरनाकै कारणले गर्दा पर्यटकको चहलपहल बढेको स्थानीयवासीले बताएका छन् । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङ र ३ नम्बर वडा मुनाको सिमानामा पर्ने नर्जा झरना हेर्दा निकै सुन्दर, आकर्षक र मनमोहक देखिन्छ । लुलाङ र मुना गाउँको माथिल्लो सिमानाबाट बग्ने नर्जा झरनाभन्दा माथि मानव वस्ती नभएको हुँदा झरना एकदमै सफा र कञ्चन छ । पछिल्लो समय शनिबार तथा विदाको दिन झरनामा रमाउन धेरै पर्यटकहरु पुग्ने गर्दछन् ।


धवलागिरि गाउँपालिकामा विभिन्न कार्यक्रम लिएर जानेहरु एकैछिन भए पनि झरनामा पुगेर फर्किन्छन् । झरनालाई पृष्ठभूमीमा पारेर सेल्फी फोटो र भिडियो खिच्न तथा टिकटक बनाउन भन्दै पर्यटकहरु नर्जा झरनामा जाने गर्छन् । झरनामा पुगेर मोबाइलमा टिकटक र रिल्र्स बनाउनेहरुको पनि अहिले भीड लाग्ने गरेको छ । गर्मी छल्न समेत मानिसहरु त्यस झरनामा जाने गरेको स्थानीयवासी बताउँछन् । गूर्जा र चुरेन हिमाल जाने पदमार्गअन्तर्गत नर्जा झरना पर्दछ ।


आन्तरिक पर्यटक भूपेन्द्र भण्डारीले झरनामा पुगेर रमाउन पाउँदा आफूले निकै आनन्दको अनुभूति गर्न पाएको अनुभव सुनाउनुभयो । उहाँले झरनाको बारेमा वर्णन यसरी गर्नुभयो, ‘यो झरना एकदमै सुन्दर छ । सरसर्ती हेर्दा मैले आनन्दको अनुभूति गरेँ । फोटो खिचियो, नाचियो र रमाइलो पनि गरियो । यहाँ आन्तरिक मात्रै होइन बाह्य पर्यटनको पनि धेरै ठूलो सम्भावनाको ठाउँ रहेको छ । त्यसकारण यसलाई स्थानीयस्तरबाट नै संरक्षण र प्रवद्र्धन गर्नुपर्ने आवश्यकता देखिन्छ ।’


धवलागिरि गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुमध्ये एक मानिने नर्जा झरना प्रचारप्रसार तथा भौतिक पूर्वाधार नबन्दा ओझेलमा परेको छ । पर्यटकीय सम्भावना बोकेको यस झरनामा पर्यटकलक्षित भौतिक पूर्वाधारहरु बनाउन सकेमा धवलागिरि गाउँपालिकाको समेत पर्यटन प्रवद्र्धन हुने देखिन्छ ।

पर्यटकीय सम्भावना बोकेको नर्जा झरनाको पर्यटन प्रवद्र्धन गर्नको लागि आवश्यक पहल गरिने धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।।

Leave a Reply