म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको बराहपाखो सामुदायिक बनमा पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिका-७ को योजना अन्तरगत सामुदायिक बनभित्र रहेको बनभोजस्थलदेखि हुलाकचोकसम्म करिब १७० मिटर पदमार्ग निर्माण गरिएको हो ।

बनभित्र रहेको पूरानो पैदलमार्गलाई ब्यवस्थित गर्न वडाको ५ लाख र जनश्रमदान ५५ हजार गरि कुल ५ लाख ५५ हजारको बजेटमा निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद गौतमले बताए। ‘बनभोजस्थलमा जानेलाई सहज भएको छ, बाँकी रहेको स्थानमा आगामी आवमा थप बजेट माग गरेका छौ’ अध्यक्ष गौतमले भने ।

उनले बराहपाखो क्षेत्रमा रहेको बेनी खानेपानीको ट्यांकी, पूरानो खानेपानीको मुल मर्मतका लागि समेत पदमार्ग बनेपछि सहज भएको छ । वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले पुराना पदमार्गलाई मर्मतसम्भार रनयाँ ट्रयाक खोल्ने कामपनि सँगसँगै गरिएको बताए । उनले सामुदायिक बनभित्र करिब १ किलोमिटर पदमार्गको सञ्जाल बनाउने बताए ।

‘यहाँ नयाँ र ठूला भौतिक संरचना बनाउन मनाही छ, उपयोगी हुने संरचना मात्रै बनाइएको छ‘ अध्यक्ष श्रेष्ठले भने ।अग्नीरेखाको पनि उपयोग हुनेगरि पक्की ढलान सहितको पदमार्ग बनेको छ । गर्मीयाम शुरु भएसँगै आगलागीको जोखिम कम गर्न समेत पदमार्गले अग्नीरेखाको काम गर्ने गरेको छ ।

बराहपाखो साामुदायिक बनमा बाक्लो मात्रामा सल्ला रहेकाले आगो छिटो फैलिन सक्ने खतरालाई समेत पदमार्गले न्यूनिकरण गर्नेछ । बराहपाखो सामुदायिक बनको माथिल्लो क्षेत्रमा वडा नं ८ बाट साइकल लेन ल्याउने र तल्लो क्षेत्रमा पदमार्ग बनाउने बाहेक अन्य संरचनाहरूलाई प्राथमिकता नदिइएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

उनले बनभित्र विभिन्न प्रजातिका फलफुल रोपिएको छ । उनले चोरीशिखारीलाई समेत निगरानी राखिएको बताए । सामुदायिक बनको टोलीले नियमित बन क्षेत्रमा अनुगमन सहित कुनै संकास्पद गतिविधि देखेमा सुरक्षाकर्मी, वन कर्मचारीलाई खवर गर्ने गरेका छन् ।

यसैबीच रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजना र खानेपानी, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको सहयोगमा पूरानो पोखरी र चौतारी मर्मत तथा पहिरो नियन्त्रणको काम समेत धमाधम भइरहेको छ ।

 

Leave a Reply