प्रसूति बेथाले च्यापेर सुत्केरी हुन नसकेपछि एक महिलाको आज (शुक्रवार) हेलिकप्टरबाट उद्धार भएको छ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीस्थित बगराकी ३८ वर्षीया तुलसा बुढाथोकीको हेलिकप्टरबाट उद्धार गरी पोखरा लगेर सुत्केरी गराइएको हो ।

भौगोलिक हिसाबले विकट तथा दुर्गम क्षेत्रमा पर्ने मुदी बगराकी बुढाथोकी प्रसव पीडाले छटपटाएर स्वास्थ्य अवस्था जटिल बनेपछि धवलागिरि गाउँपालिका र गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको समन्वयमा एअर डाईष्टिको हेलिकप्टरबाट उद्धार गरिएको थियो । बुढाथोकीलाई प्रसूति गराउनका लागि गाउँपालिकाले घरमै स्वास्थ्यकर्मी पठाएको थियो ।

तर बिहीबार साँझदेखि नै प्रसूति बेथा लागेर बुढाथोकी सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरी गण्डकी अस्पताल पोखरामा लगेर सुत्केरी गराइएको धवलागिरि गाउँपालिकाका स्वास्थ्य संयोजक सम्झना खाती क्षत्रीले बताइन् । उनका अनुसार गण्डकी अस्पतालका स्वास्थ्यकर्मीको टोलीले बुढाथोकीको पेटमा रहेको बच्चा भ्याकुम लगाएर निकालेको थियो । बुढाथोकीले छोरा जन्माएकी छन्भने अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्य संयोजक क्षत्रीले जानकारी दिइन् ।

घरमै स्वास्थ्यकर्मी पठाउँदा पनि बुढाथोकी सुत्केरी हुन नसकेपछि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उद्धारको लागि हेलिकप्टरको पहल गरेका थिए । गर्भवती बुढाथोकीको स्वास्थ्य अवस्था नाजुक भएपछि सुत्केरी हुन नसक्दा उद्धार गर्न हेलिकप्टर मगाइएको गाउँपालिकाले जनाएको छ । जटिल अवस्थाकी गर्भवती महिला बुढाथोकीको स्वास्थ्य अवस्थाको ख्याल गर्न र सुत्केरी गराउन स्वास्थ्यकर्मीलाई उनको घरमै पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।

तेस्रो सन्तानको रुपमा छोरा जन्माएकी बुढाथोकीको दुईवटी छोरी छन् । उनका श्रीमान लिलबहादुर बुढाथोकीको केही दिन अगाडि मात्रै मुटु रोगको कारणले मृत्यु भएको थियो । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको ‘एअर लिफ्टिङ’ कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ । सडक सुविधा नपुगेका दुर्गम वस्तीमा हेलिकप्टरमार्फत जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलाको अस्पताल पु¥याएर ज्यान बचाउने गरिएको छ ।

Leave a Reply