म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न भएको छ । सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुले तयार पारेका शैक्षिक सामग्रीहरुको प्रदर्शन गरी सिकाई आदान–प्रदान गर्ने उद्देश्यले मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयको परिसरमा एकिदिने शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको हो ।
रघुगंगा गाउँपालिका र समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) संस्थाको संयुक्त आयोजनामा गरिएको शैक्षिक प्रदर्शनी मेलामा गाउँपालिकाको राखु कलस्टर क्षेत्रमा पर्ने एक देखि ४ नम्बर वडाका आधारभुत र माध्यमिक तह गरेर १५ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
प्रदर्शनी मेलामा विद्यार्थी र शिक्षकहरुले सामुहिक रुपमा बनाएका शैक्षिक सामग्रीहरु अवलोकनका लागि राखिएको थियो । शिक्षक, विद्यार्थी र अभिभावकहरुको अन्तरनिहित प्रतिभा पहिचान,सिकाई आदान–प्रदान र प्रचार प्रसार गर्ने उद्देश्यले शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको लर्नका कार्यक्रम विशेषज्ञ तोयाप्रसाद अम्गाडेले जानकारी दिनुभयो । मेलामा उत्कृष्ट सामग्री प्रदर्शन गर्ने विद्यालयहरुलाई नगद सहित पुरस्कृत गरिएको छ ।
प्रदर्शनीमा माध्यमिक विद्यालय तर्फ ज्ञानोदय मावि मौवाफाँट प्रथम,महादेव मावि बेग द्धितीय र कालिका मावि तिप्ल्याङ तृतीय स्थान हासिल गरेका छन् । माध्यमिक तर्फ प्रथम हुनेले १२ हजार पाँचसय, द्धितीय हुनेले दश हजार र तृतीय हुनेले सात हजार पाँचसय रुपियाँ नगद प्राप्त गरेका छन् ।
यसैगरी आधारभुत विद्यालय तर्फ प्रथम बेगको पार्वती आधारभुत विद्यालय, द्धितीय बाँदुकको कृष्ण आ.वि र तृतीय दर्मिजाको शिव आ.वि भएका छन् । आधारभुत तर्फ प्रथम,द्धितीय र तृतीय हुने विद्यालयलाई क्रमशः नगद रु दश हजार,सातहजार पाँचसय र पाँचहजार रुपियाँ पुरस्कार प्रदान गरिएको लर्नका कार्यक्रम विशेषज्ञ अम्गाडेले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी,उपाध्यक्ष प्रेमकुमारी पुन,पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, लर्नका कार्यकारी निर्देशक कृष्णबहादुर तिलिजा लगायतले उत्कृष्ट विद्यालयहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
शैक्षिक सामग्री प्रदर्शनी मेलाले विद्यार्थीहरुको शैक्षिक स्तरका साथै विद्यार्थीहरुको वौद्धिक स्तरमा वृद्धि हुने पालिकाका अध्यक्ष भण्डारीले विश्वास व्यक्त गर्नुभयो । मेलाले विद्यार्थी, अभिभावक तथा शिक्षकहरुमा भएका फरक फरक प्रकारका क्षमता पहिचान गरेर सीप साझेदार गर्नका लागि पनि प्रदर्शनी मेला उपयोगी भएको उहाँले बताउनुभयो । गाउँपालिका भित्रको राँखु कलस्टरमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले लर्न सँगको साझेदारीमा विगत तीनवर्ष देखि यता विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
शिक्षक,अभिभावक र विद्यार्थी गरेर करिब पाँचसय जनाले शैक्षिक मेलाको अवलोकन गरेको लर्नका अम्गाडेले जानकारी दिनुभयो । विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्रीको प्रदर्शनी मेला उपयोगी भएको उहाँले बताउनुभयो । मेलामा विद्यार्थीहरुले बनाएका विभिन्न विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्याङ्क, बाक्यहरु,सामाजिक विषय सँग सम्बन्धित चित्रहरु,विज्ञान विषय सँग सम्बन्धित सामग्रीहरु र कृषि सँग सम्बन्धित परम्परागत सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।
लर्नका कार्यकारी निर्देशक तिलिजाको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रमको संचालन ज्ञानोदय माविका शिक्षक अर्जुन पौडेलले गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्षहरु,जनप्रतिनिधि,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायत शिक्षक, अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply