बागलुङको धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटमा बृहत ब्रह्माण्डीय महायज्ञको तयारी पूरा भएको छ । स्वामी कमलनयनाचार्यको अगुवाईमा फागुन ९ गतेदेखि २३ गतेसम्म १५ दिन सञ्चालन हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० को तयारी अन्तिम चरणमा पुगेको सोमबार पत्रकार सम्मेलन गरेर जनाईएको छ । महायज्ञको फागुन ९ गते ९ वर्षका १०८ कन्याहरुबाट उद्घाटन हुने उनले बताए ।

महायज्ञका मुल संयोजक मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यले महायज्ञमा १५ दिनसम्म विभिन्न कार्यक्रम र सम्मेलन गरिने जानकारी दिए । महायज्ञ संचालन हुने हरेक दिन फरक फरक कार्यक्रम संचालन हुनेछन् । पहिलो दिन फागुन ९ गने जल, उर्जा, विकास तथा वातावरण सम्मेलन हुनेछ । फागुन १० गते राष्ट्रिय राजनीति एवं कर्मचारी सहितको उपस्थितिमा पञ्चकोटको महत्वबारे प्रकाश पारिनेछ ।

फागुन ११ गते राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलन, फागुन १२ गते गण्डकी बिकासको अवधारणा र कायान्वयन सम्मेलन, फागुन १३ गते प्रादेशिक राजनीति र सुशासन सम्मेलन हुनेछ । फागुन १४ गते राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्दती कार्यान्वयन सम्मेलन, फागुन १५ गते आत्म निर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन, फागुन १६ गते योग नथा खेल सम्मेलन, फागुन १७ गते पूर्विय चिकित्सा पद्दती र जनस्वास्थ्य बिकास सम्मेलन हुने भएको मुल संयोजक कमलनयनाचार्यले बताए ।

यस्तै फागुन १८ गते राष्ट्रिय अर्थतन्त्रको विकास र वित्तिय संस्थाको योगदान, फागुन १९ गते समावेशीताको सिद्दान् र महिलाको क्षमता बिकास सम्मेलन, फागुन २० गते भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन हुने छ ।

फागुन २१ गते समाजसेवा र समाजसेवीको प्रभावकारीता सम्मेलन, फागुन २२ गते प्राकृतिक श्रोत संरक्षण र वातावरण सम्मेलन तथा फागुन २३ गते बैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक संस्थलको संरक्षण सम्बन्धी सम्मेलन समेत हुने भएको संयोजक कमलनयनाचार्यले बताए । उनले महायज्ञमा २१ हजार ५ सय ५५ क्विन्टल धान्यान्चल समेत गर्न लागेको बताए ।

ब्रह्माण्डी महायज्ञ अहिलेसम्म नेपालमा नभएको र बागलुङमा पहिलो पटक हुन लागेको उनले जानकारी दिए । ‘हजारौं वर्ष पहिले कहिले भएको भए नेपालमा भयो होला मेरो जानकारीमा भएसम्म यस्तो खालको यज्ञ नेपालमा भएको छैन,’उनी भन्छन्,‘महायज्ञको अध्यक्ष भगवान मुक्तिनाथ, संरक्षक भगवान पशुपतिनाथ, आह्वानकर्ता भगवान बुद्ध र स्वागतकर्ता गण्डकी नदी कृष्णगण्डकी र शुक्लागण्डकी दिदी बहिनी रहनेछन् ।यो एउटा अद्भुत संयोग रहनेछ ।’

ब्रह्माण्डी महायज्ञ केवल धार्मिक कार्यक्रम मात्र नभई जल जोगाउन राष्ट्रिय आह्वान भएको कमलनयनाचार्यले बताए । ‘जल र गौ जोगाउन सक्यौ भने नेपाल समृद्ध हुन्छ,’ उनले भने,‘यो महायज्ञ मात्र होइन ।

यो ब्रह्माण्डीय महायज्ञ हो । यहाँ जल, उर्जा, विकास तथा वातावरण, देश विकासको अवधारणा र कार्यान्वयनका साथै राजनीति र सुशासनका बारेमा सम्मेलन हुनेछन् ।’ १५ दिनसम्म चल्ने महायज्ञमा २५ फिट अग्लो मौलो २१ हजार कर्ताबाट धान अर्पण गरेर पुरिनेछ ।

पञ्चकोटमा विश्वशान्ति कलस निर्माण लागि २०७१ सालमा शिलन्यास भए पनि काम पूरा हुन सकेको छैन । १५१ फिट अग्लो कलसमा करिब एक हजार पाँच सय व्यक्तिहरु अटाउनेगरी हामी कलस निर्माण भइरहेको छ । कसल निर्माणका लागि ४० फिट जमिनमुनीबाट फाउण्डेसन तयार पार्ने काम भैसकेको उनले बताए ।

‘४० फिट तलबाट कलसका लागि फाउण्डेसनको काम भैसकेर एक तला ढलान भैसकेको छ,’उनले भने,‘यो नेपालमै पहिलो पटक विश्वशान्तिको सन्देश कालीगण्डकीको तटबाट सन्देश प्रवाह गर्नेगरी काम गर्दैछौं ।’५ हजार ५ सय ५५ केजीको महाघण्ट तयार भएर पञ्चकोटमा आइपुगेको छ । उक्त महाघण्ट महायज्ञकै अवसरमा फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेलले अनावरण गर्ने संयोजक कमलनयनाचार्यले बताए ।

पञ्चकोटमा अहिलेसम्म ५० करोड बढिको पूर्वाधार तयार भैसकेका छन् । २०७१ सालमा सञ्चालन गरिएको पहिलो महायज्ञबाट उठेको रकमबाट सुरु गरिएको पञ्चकोट निर्माणको कामले अहिले एउटा स्वरुप धारण गरेको छ । शीश महल, सत्सङ्ग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पञ्चनारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, गरुडशिला लगायतका संरचनाहरु पञ्चकोट विकास परिषदका प्रतिनिधि अध्यक्ष दामोदर शास्त्रीले बताए ।

उनले गरुडनारायणको मन्दिर, हनुमानको मूर्ति स्थापना, सडक पूर्वाधारको सुधार तथा निर्माण, खानेपानीको व्यवस्थापन लगायका कामहरु सम्पन्न भैसकेको बताउँदै विशेष गरी ठूलो भौतिक र धार्मिक संरचनाहरु ताराजालकोट रहेको ठाउँमा निर्माण भैरहेका जानकारी दिए ।

 

Leave a Reply