पञ्चकोटमा हुने अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा आउने भक्तजन तथा पर्यटकको हितका लागि भन्दै बागलुङका यातायात व्यवसायीले भाडादर समायोजन गरेका छन् ।बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा बसेको व्यवसायीहरुको संयुक्त बैठकले भाडादरमा २५ प्रतिशतसम्म कम गराएको हो ।

बिशेषगरी पञ्चकोटतर्फ संचालनमा रहेका ट्याक्सी, जिप र बस तथा माइक्रोबसले भाडादर घटाएको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश ंकँडेलले बताए । हाल प्रतिव्यक्ति २ सय ५० रुपैयाँ लिने गरेको ट्याक्सीले २ सय रुपैयाँ, २ सय ५० रुपैयाँ लिएको पिकअपले १ सय ५० रुपैयाँमै लैजाने भएको हो । १ सय ५० रुपैयाँ लिने मिनीबसले १ सय रुपैयाँ मात्रै र २ सय रुपैयाँ लिने माइक्रोबसले १ सय ५० रुपैयाँ लिने निर्णय भएको हो ।

महायज्ञका लागि लक्षित गरेर धौलागिरि गण्डकी यातायात सेवा प्रालिले हरेक बिहान ९ बजेदेखि बस संचालन गर्ने समेत निर्णय भएको हो ।बैठकमा बागलुङ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष शशिकपुर श्रेष्ठ, धौलागिरि गण्डकी यातायात प्रालिका अध्यक्ष ययन्द्रराज पन्त, व्यवसायीहरु सन्तबहादुर पाख्रिन, ओम गिरी लगायतले निर्णयमा हस्ताक्षर गरेका छन् ।

महायज्ञमा दैनिक सयौं मानिस पुग्ने भएका छन् । बाहिरबाट आउनेहरुले आफ्नै गाडी लगेपनि स्थानीय र छिमेकी जिल्लाबाट आउनेहरुले गाडी नपाएर अलपत्र पर्न नपरोस् भनेर यो पहल गरिएको महायज्ञका आयोजक तथा सर्वसिद्दिधाम पञ्चकोटका संस्थापक महासचिव जगन्नाथ आचार्यले बताए । महायज्ञका लागि सडक सफाइ, मञ्च व्यवस्थापन, आबास र भोजनको व्यवस्था लगायतका कार्य पुरा भएका छन् ।

Leave a Reply