खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बागलुङ जिल्ला तमानखोला गाउपालिका–१ का पदम बहादुर घर्ती मगरको अनुहार जल्योे । घरायसी काम सकेर गएको माघ १४ गते दिउँसो साढे दुई बजे खाजा पकाउन थालेकी श्रीमति मेनुकालाई जोगाउन खोज्दा पदमको अनुहार र हात नराम्रोसँग पोल्यो । तत्कालै गाउँको स्वास्थ्यचौकीमा उपचारपछि सिधै बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आएका पदमबहादुरको अहिले चमत्कारी सुधार भइरहेको छ ।

चिकित्सा विज्ञानले आलो गाउँमा तातोपानी प्रयोगलाई अस्वीकार गर्ने गरेपनि उनको सुधारले भने सबै आर्चश्य चकित परेका छन् । गएको माघ १५ गते मध्यरातमा तातोपानी कुण्ड पुगेका पदमबहादुरलाई कुण्ड ब्यवस्थापन समितिले अन्य विरामीलाई असर नगर्ने गरी छुट्टै बाथटपमा स्नान गर्ने ब्यवस्था मिलाएपछि थप सहज भएको उनको अनुभव छ। पदमबहादुरको अनुहारमा चमक आएको छ ।

बि.स २०६८ सालमा हजुरबुबा समेत आगोले पोलेर घाईते भएको अवस्थामा पदमबहादुरले नै बोकेर कुण्डसम्म ल्याई करिब डेढ महिना राखेर उपचार गरेका थिए। हजुरबुबाको सुधार देखेर आफुँलाई समेत आगोले पोलेपछि तातोपानी रोजेका पदमबहादुर जस्तै धेरै बिरामीले रोग पखाल्न तातोपानी कुण्ड रोज्ने गरेका छन्।

कुण्डमा शरीरभरि फैलिएको घाउ, छाला पट्पटी फुटेर डरलाग्दो अवस्थामा आएका, माछाको कत्ला जस्तो घाउबाट दुर्घन्ध फैलिएको अवस्थामा पनि तातोपानी कुण्डमा आएर स्नान गरी खुसी हुदैं फर्किने गरेका छन् । न्यूनतम ५ देखि दुई महिनासम्म स्नान गरेपछि स्वास्थ्यमा सुधार भएका धेरै बिरामी कुण्डमा भेट्न सकिन्छ ।

ठूला–ठूला अस्पतालमा उपचार गर्दा समेत निको नभएका बिरामीहरू कुण्डमा स्नान गरेपछि फरक अनुभव महसुस गरी दुईदशकसम्म नियमित आउने गरेका समेत कुण्डभित्र भेटिन्छन् ।

ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला रोग, शरीर सुन्निएको, बज्रिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुने लगायतका स्वास्थ्य समस्या भएका बिरामीहरूका लागि तातोपानी कुण्ड प्रकृतिको बरदान बनेको छ ।

जमिनभित्रबाट बिरे नुन(आयुर्वेदीय औषधीविशेषमा प्रयोग गरिने गन्धदार कालो नुन) को गन्धसहित निस्कने ४८ डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेका बिरामीहरू आफ्नो स्वास्थ्यमा सुधार आएको अनुभव सुनाउँछन्।

बोकेर ल्याइएका बिरामीहरू तातोपानी कुण्डमा स्नान गरेपछि हिँडेरै घर फर्किएका धेरै उदाहरण हरेक दिन कुण्डमा देख्न सकिन्छ । घाउ चोटपटक लागेको ठाउँमा पानीमा नुन राखेर तातो बनाई कृतिम रुपमा सेक्ने चलनलाई आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको छ।

बिरेनुन र गन्धकको मिश्रण भएको प्राकृतिक तातोपानी कुण्डमा कृतिम घरेलु उपचारको तुलनामा सहज र सुविधायुक्त तरिकाले घण्टौंसम्म स्नान गर्न सकिने भएकाले बिरामीको आकर्षण बढ्दै गएको हो।

कुण्डमा पुरुष र महिलालाई फरक– फरक समय तालिका छ । हरेक बर्ष सुविधा र पूर्वाधार थपिदैंै जाँदा स्नान गर्न र भ्रमणका लागि आउनेहरुलाई समेत निकै सहज भएको छ । सिंगा तातोपानी जस्तै म्याग्दीका विभिन्न क्षेत्रमा रहेका तातोपानी कुण्डको संरक्षण र पूर्वाधारमा ध्यान दिन सकेमा बिरामी र भ्रमणमा आउनेहरुबाट समेत सकारात्मक सन्देश प्रवाह हुन्छ । बेनी साप्ताहिक पत्रिकाबाट साभार

Leave a Reply