बागलुङ नगरपालिका–१ स्थित मालढुंगा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध निर्माण गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी  छ ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ७० लाख रुपैयाँबाट मालढुंगा बस्ती संरक्षणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर दीपेन्द्र पौडेलले जानकारी दिए ।

कालीगण्डकीले धार परिवर्तन गर्दा केही वर्षयता कटान तीव्र हुँदै आएको छ । अघिल्लो वर्ष पनि ६५ लाख लागतमा केही क्षेत्रमा तटबन्ध गरिएको थियो । लक्ष्मीनारायण मन्दिरसँगै मालढुंगाबाट खुदुर्के घाटसम्मको बस्ती संरक्षण गर्न थालिएको इञ्जिनियर पौडेलले बताए । गत पुसदेखि निर्माण समिति गठन गरी तटबन्धको काम भइरहेको छ ।

कालीगण्डकी निरन्तर दोहन हुँदा बर्खामा पानीको बहाव बस्तीसम्म पुग्ने गरेको थियो । तटबन्ध निर्माणपछि मालढुंगाको तटीय क्षेत्रका बस्ती, प्रहरीचौकी, लक्ष्मीनारायण मन्दिरलगायत संरचना जोगिने इञ्जिनियर पौडेलले बताए ।

तटबन्ध निर्माण समितिका अध्यक्ष भुवन खड्काले पानीमुनि दुई मिटर पक्की पर्खाल उठाउने काम भइसकेको भन्दै अहिले त्यसमाथि ग्याविनसहितको ‘पर्खाल’ उठाइरहेको बताए ।  बागलुङ प्रवेशद्वार नजिकै ऐतिहासिक लक्ष्मीनारायणको मन्दिर बन्दै गएको र तटबन्ध बनेपछि यहाँका धेरै घर सुरक्षित हुने उनले दाबी गरे । रासस

Leave a Reply