म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविमा निर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रस्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दश कोठे भवनको बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

एक करोड २२ लाख तीन हजार २६६ रुपियाँ लागतमा निर्माण भएको सुविधा सम्पन्न भवनको पाहार ट्रस्ट युकेका प्रेसिडेन्ट हार्वर्ड ग्रिन(एम.बि.ई) र गाउँपालिका अध्यक्ष वेगप्रसाद गर्बुजाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । सुविधा सम्पन्न भवन बनेपछि स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका थिए ।

यसअघि जीर्ण भएको भवनमा पठनपाठन गर्न पर्दा समस्या हुने गरेको थियो । प्रेसिडेन्ट ग्रिनले गाउँपालिका र स्थानीयबासी सँगको साझेदारीमा सुविधा सम्पन्न भवन निर्माण हुनु दुर्गम गाउँको विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आधार बनेको बताउनुभयो । उहाँका अनुसार, पाहार ट्रस्ट युके मार्फत नेपालका २७ जिल्लाका दुर्गम ग्रामीण बस्तीमा हालसम्म तीन सय भन्दा बढी शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनाहरू निर्माण भइसकेका छन् । उहाँले नेपालका दुर्गम ग्रामीण बस्तीका शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा र सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

ट्रस्टले भवन निर्माणमा ठुलो योगदान पुर्याएको बताउनुहुँदै आगामी दिनमा पनि अन्य विद्यालयमा भवन लगायत पूर्वाधार निर्माण गर्न चाहेमा गाउँपालिकाले साझेदारी गर्ने अध्यक्ष गर्बुजाले प्रतिबद्धता जनाउनुभयो । गाउँपालिकाले दुर्गम बस्तीका विद्यालयमा भवन लगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको अध्यक्ष गर्बुजाले बताउनुभयो ।पाहार ट्रस्टबाट ६१ लाख एक हजार ,गाउँपालिकाबाट पचास लाख र स्थानीयबासी एघार लाख रुपियाँ लगानी भएको ट्रस्टका इन्जिनियर टेक रानाले बताउनुभयो ।

वि.सं.२०७८ मङ्सिरदेखि निर्माण थालेको भवनको काम २०७९ असोजमा सम्पन्न भएको थियो । वडा अध्यक्ष मिम पुन र समाजसेवी क्याप्टेन जितबहादुर घर्तीले ट्रस्ट सँगको सहकार्यमा भीम मावि र गौ बोम बस्त माविमा सुविधा सम्पन्न भवन निर्माण भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर पुनले पहिले जीर्ण र साँघुरो कक्षाकोठामा पठनपाठन हुँदै आएकोमा अहिले भवन बनेपछि भने सहज भएको बताउनुभयो ।

भवनको संरक्षण गर्ने  विद्यालय र स्थानीबासीको दायित्व भएको उहाँको भनाइ थियो । विद्यालयका प्र अ डम्बरबहादुर घर्तीका अनुसार , कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा दुई सय ३४ जना विद्यार्थी अध्ययनरत छन् । भने अठार जना शिक्षकहरू अध्यापनरत छन् ।

दश कोठे भवन विद्यालयलाई पर्याप्त नभएको बताउँदै थप भवन निर्माणको लागि सहयोग गर्न गाउँपालिका र ट्रस्टलाई आग्रह गर्नुभयो । यसै गरी सोही अवसरमा स्थानीय देविस्थान–घरिथोक–पन्थोक पुर्ख्यौली नाच समूहका अध्यक्ष मनप्रसाद पुन मगरले दश जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको थियो । विद्यालयले भवन निर्माण गर्ने ट्रस्ट,समाजसेवी क्याप्टेन घर्ती र गाउँपालिकालाई सम्मान गरेको छ ।

Leave a Reply