म्याग्दीको रघुगंगा गाउँपालिका– २ रिसिनचौतारीका युवाहरुले श्रमदान र सहयोग जुटाएर स्वर्ग जाने पदमार्ग निर्माण गरेका छन् । वडा कार्यालय-भिरपाटा-चौर– रिसिनचौत्तारी हुँदै सिरूबारी आर्यघाट जार्ने पदमार्ग निर्माण अन्तरगत हाललाई बेनी जोमसोम सडक खण्ड अन्तरगत सिरुवारी आर्यघाट देखि रिसिनचौतारी सम्म पक्की पदमार्ग निर्माण गरिएको अभियानका संयोजक सागर केसीले जानकारी दिनुभयो ।

‘हामीले गाउँको सबैभन्दा बढी प्रयोग हुने पदमार्ग निकै जिर्ण बनेको थियो, त्यसलाई पक्की बनाउनका लागि वडा कार्यालय संग समन्वय गरेर निर्माण सुरु गरेका हौँ, केसीले भन्नुभयो–केही ठाउँमा निकै गाह्रो भएको थियो, गाउँमा कोही दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन निकै समस्या हुने गरेको थियो ।’

स्वदेशमा हुनेले श्रमदान गर्नुभएको छ भने विदेशमा हुने गाउँलेले नगद सहयोग गर्नुभयो केसीले भन्नुभयो– ‘हाल सम्म हामीलाई १२ लाख ५० हजार भन्दा बढी सहयोग भएको छ, यो रकबाट हामीले एक हजार दुई सय भन्दा बढी पक्की सिढी निर्माण गरेका छौँ ।’

गाउँको भेलाबाट पक्की पदमार्ग निर्माण गर्नका लागि गाउँको प्रत्येक घरबाट कम्तिमा पाँच दिनसम्म श्रमदान गर्नुपर्ने नियम बनाएर पक्की पदमार्ग निर्माण सुरु गरेको पदमार्ग निर्माण समितिका सचिव रविन्द्र शर्माले बताउनुभयो । ‘गाउँमा सक्नेले सहयोग पनि गर्नुभएको छ, श्रमदान पनि, गाउँमा युवा जनशक्ती छैन हामी भएको केही युवाले श्रमदान र सहयोग उठाएर केही भएपनि सामाजिक काम गर्ने प्रयास गरेका हौँ ।’

शर्माले भन्नुभयो– पदमार्ग निर्माणमा दैनिक १५ देखि ३० जनाको टोलीले करिब एक महिना भन्दा बढी खटिएर पदमार्ग निर्माण गरेका हुन् । पदमार्ग निर्माणमा गाउँका आमा समुह, व्यक्तीहरुले दैनिक रुपमा निशुल्क खाजा व्यवस्थापन गरेकोे सचिव शर्माले बताउनुभयो । गाउँको विकासमा सरकारी बजेट मात्र ताकेर बस्नेहरुका लागि पदमार्ग निर्माण खटिएका युवाहरु उदाहरण बनेको रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष अमृत भण्डारीले बताउनुभयो ।

‘पदमार्ग निर्माण गर्नुपूर्व पनि उहाँहरुले वडा कार्यालय संग समन्वय गर्नुभएको थियो, अहिले वडामा कम बजेट भएका कारण सम्बधोन हुन नसकेको हो ।’ अध्यक्ष भण्डारीले भन्नुभयो– ‘उहाँहरुले यो पदमार्गलाई वडा कार्यालय सम्म पुराउने योजना बनाउनुभएको थियो, अहिले रिसिनचौतारीको पिपलको रुख सम्म लिनुभएको छ अब आगामी वडाबाट बजेट नै हालेर योजना सम्पन्न गराउने योजना बनाएको छु ।’

अभियानबाट केही अप्ठेरो ठाउँमा पक्की पदमार्ग बनाउने उद्देश्यले श्रमदान अभियान सञ्चालन भएकै भोलिपल्टदेखि स्वतःस्फूर्त श्रमदानमा सहभागी हुने र आर्थिक सहयोग गर्ने पनि हातेमालो गर्न थालेपछि पदमार्ग बनाउने अभियानलाई सबैको साझा अभियानको रूपमा अगाडि बढाएको युवाहरु बताउछन् ।

जङ्गलमा झाडी फँडानी गरेर ढुङ्गा, सिमेन्ट, बालुवा र गिट्टीको बन्दोबस्त मिलाएर पदमार्गलाई ढलान नै गरेर पक्की बनाइएको छ । आवतजावत गर्न सहज हुने गरी पदमार्गलाई साढे एकमिटर फराकिलो बनाइएको छ । अभियानमा संकलन भएको रकम र सहयोग गर्ने व्यक्तीहरुलाई केही दिनमा नै गाउँमा सार्वजनिक भेला राखेर खर्च आम्दानी विवरण सार्वजनिक गरिने युवाहरुले जनाएका छन् ।

Leave a Reply