प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति छनोट समितिले प्राप्ताङ्कका आधारमा दोस्रो नम्बरमा सिफारिस गरेका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेरै छाडे।

उनले बिहीबार केशरजंग बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन। बराल प्रधानमन्त्री दाहालले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र निकट मानिन्छन्।

प्रधानमन्त्री दाहालले सिफारिस समितिले एक नम्बरमा सिफारिस गरेको चित्रबहादुर बुढाथोकीलाई नछानेर दोस्रो नम्बरमा रहेका केशरजंग बराललाई छानेका हुन।

समितिले तीनजनाले प्राप्त गरेको अंकसहित प्रधानमन्त्रीलाई सिफारिस गरेको हो। प्राप्ताङ्कका आधारमा पहिलोमा चित्रबहादुर बुढाथोकी (७८ नम्बर), दोस्रोमा केशरजंग बराल (७६ नम्बर) र तेस्रोमा टंकनाथ धमला (७५ नम्बर) छन्। छनोट समितिले प्राप्तांकसहित नाम सिफारिस गरेपछि कुलपति एवं प्रधानमन्त्री दाहाल अप्ठेरोमा परेका थिए।

त्रिविका कुलपति एवं प्रधानमन्त्री दाहाल सुरुदेखि नै योग्यताक्रममा दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाउन चाहन्थे तर तीन जनाको प्राप्ताङ्क सञ्चारमाध्यममा सार्वजनिक भएपछि उनी अप्ठेरोमा परेका थिए।

त्यसो त पहिलो र दोस्रो नम्बरमा रहेका बुढाथोकी र बराल दुवै प्रधानमन्त्री दाहालले नेतृत्व गरेको दल माओवादी केन्द्र निकट मानिन्छन्। छनोट समितिले सिफारिस गरेकामध्ये कसलाई उपकुलपति बनाउने भन्ने विषयमा सोमबार प्रधानमन्त्री दाहाल, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल, वर्षमान पुन, छनोट समितिका संयोजक एवं शिक्षामन्त्री अशोक राई, माओवादी केन्द्रनिकट प्राध्यापकहरूबिच छलफल भएको थियो।

‘प्रधानमन्त्री दाहालले छनोट तथा सिफारिस समितिका संयोजक एवं सहकुलपति अशोक राईलाई तपाईँले नम्बरसहित सिफारिस गरेर सङ्कटमा पार्नुभयो। बरु नाम मात्र सिफारिस गरेको भए हुने,’ छलफलमा प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले नागरिकन्यूजसँग भनेको थियो, ‘प्रधानमन्त्रीको रोजाइमा दोस्रो दुई नम्बरका उम्मेदवार केशरजंग बराल रहेछन्। यस कारण प्रधानमन्त्रीले आफू सङ्कटमा परेको भन्नुभयो।’

तर छलफलमा सहभागी पौडेल र पुनले भने खुला प्रतिस्पर्धाबाट छनोट गरिएकाले योग्यता क्रम मिच्न नहुनेमा जोड दिएका थिए। उनीहरूले योग्यताक्रममा पहिलो अंक प्राप्त गरेका चित्रबहादुर बुढाथोकीलाई नै उपकुलपति नियुक्त गर्नुपर्नेमा जोड दिएको स्रोतले बताएको थियो।

तर मंगलबार माओवादीनिकट प्राध्यापक संगठनले पनि प्रधानमन्त्रीलाई भेटेर बराललाई उपकुलपति बनाउन दबाब दिएको थियो। माओवादी केन्द्रनिकट प्राध्यापक संगठनले योग्यताक्रममा दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाउन दबाब दिएको थियो।

माओवादी केन्द्रका नेता पौडेललगायतले योग्यताक्रममा एक नम्बरमा रहेका बुढाथोकी र माओवादी केन्द्रनिकट प्राध्यापक संगठनले दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाउन दबाब दिएपछि कुलपति एवं प्रधानमन्त्री दाहाल नियुक्तिमा सकस भएको थियो।

छनोट समितिले कार्यविधिले तय गरेको १०० पूर्णाङ्कमा बुढाथोकीले ७८, बरालले ७६ र धमलाले ७५ अंक प्राप्त गरेका भन्दै सोही आधारमा नाम सिफारिस गरेको हो।

योग्यताक्रममा एक नम्बरमा रहेका बुढाथोकीले योग्यता क्रम मिच्न चलखेल भइरहेको भन्दै यसअघिनै चिन्ता व्यक्त गरेका थिए। उनले खुला प्रतिस्पर्धाबाट ७८ अंकसहित आफू मेरिट सूचीको एक नम्बरमा परी सिफारिस भए पनि उपकुलपति भइहाल्नेमा विश्वस्त हुन नसकेको उल्लेख गरेका थिए। उनले उपकुलपति नियुक्तिमा भइरहेको राजनीतिक दाउपेचले समस्या निम्त्याएको जिकिर गरेका थिए।

‘खासमा सरकारले भागबन्डामै शिव भुसाललाई नै उपकुलपति बनाउन खोजेको थियो। तर उनी प्रतिस्पर्धामा असफल भएपछि अब केशरजंग बराललाई उपकुलपति बनाइदिन कुलपतिलाई निरन्तर दबाब दिइएको जानकारी मैले पाएको छु,’ बुढाथोकीले बुधवार नागरिकसँग भनेका थिए, ‘माओवादी केन्द्रनिकट केही प्राध्यापकले प्रधानमन्त्रीलाई भेटेरै मलाई भन्दा दोस्रो नम्बरका बराललाई उपकुलपति बनाउन दबाब दिइरहेका छन्। मूल्यांकनमा म एक नम्बरमा सिफारिस भएको छु। तर दुःखको कुरा मभन्दा कम अंक ल्याउनेलाई उपकुलपति बनाउन कुलपतिलाई दबाब दिइएको छ। खै के हुन्छ, थाहा छैन।’ nagariknews.com

Leave a Reply