गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिनमै म्याग्दीले एथलेटिक्समा ३ स्वर्ण र १ रजत, २ काँस्य सहित ६ पदक जितेको छ ।

नवलपुरको कावासोती रङ्गशालामा शुक्रबारदेखि सुरु भएको प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगितामा कञ्चन भण्डारीले ७ सय मिटर र सविना विकले ४ सय मिटर दौड र मुना गर्बुजाले सटफुटमा स्वर्ण पदक जितेको एथलेटिक्स संघ म्याग्दीका अध्यक्ष बिनोद घर्ती क्षत्रीले बताए ।

उनका अनुसार प्रतियोगितामा सटफुटमा युकेन तामाङले रजत पदक जितेका छन् भने कञ्चचन भण्डारीले १५ सय मिटर दौडमा र लिला आचार्यले हाइजम्पमा स्वर्ण पदक जितेका छन् ।

‘म्याग्दीका खेलाडी एथलेटिक्समा चम्किएका छन्, नयाँ खोलडीको खेलबाट अन्य जिल्लाका समेत चकित परेका छन्’ अध्यक्ष क्षत्रीले भने । उनले एथलेटिक्समा नियमित अभ्यास सहित सम्बन्धित पालिकाले प्रोत्साहन गर्न सकेमा राष्ट्रियस्तरमा समेत सम्भावना भएका खेलाडीको पहिचान भएको बताए ।

स्वर्ण पदक बिजेता भण्डारी, विक रघुगंगा गाउँपालिका वडा नं ३ रघुगंगा माविका छात्रा हुन भने गर्बुजा प्रकाश मावि बेनीकी छात्रा हुन् । स्वर्ण पदक विजेताहरूले राष्ट्रियस्तरको प्रतियोगिता समेत खेल्नेछन् ।

रघुगंगा माविका प्रधानाध्यापक रमेशसिंह ठकुरीले भण्डारी र गर्बुजाले पहिलोपटक प्रदेशस्तरीय खेलमा सहभागी भएर स्वर्ण जितेकी छन् भने विकले समेत छोटो दुरीको दौडमा स्वर्ण जितेको बताए ।

म्याग्दीबाट प्रतियोगितामा सहभागी भएका खेलाडीले पहिलो दिनको खेलमा उत्साहजनक प्रर्दशन गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।

प्रतियोगितामा प्रदेशका ११ जिल्लाबाट जिल्ला स्तरीय रनिङ शिल्डबाट विजेता खेलाडी तथा टिमको सहभागि छन् । म्याग्दीबाट भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु एथ्लेटिक्स अन्तर्गतका हाइजम्प, लङजम्प, सटपुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौड लगायतका विभिन्न विधामा खेलाडी सहभागी छन् ।

Leave a Reply