म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीमा शनिबार आयोजित निःशुल्क आँखा र दाँत शिविरमा साढे २ सय बिरामी लाभान्वित भएका छन् । लायन्स क्लव अफ बागलुङ गोल्डेन ब्रिजको आयोजनामा भकिम्ली स्वास्थ्य चौकीमा आयोजित शिविरमार्फत स्क्रिनिङ गरिएको थियो ।

शिविरको उद्घाटन गदैं वडा अध्यक्ष पदमबहादुर पुनले आँखाको समस्याका बारेमा समयमै जानकारी नहुदाँ मोतियाबिन्दुको समस्या देखिने गरेको बताए । उनले ग्रामिण क्षेत्रमा आँखाको उपचार सहज नहुँदा शिविर र सदरमुकाम बेनीमा जानुपर्ने बाध्यता रहेको बताए ।शिविरले बिरामीलाई गाउँमै सेवा लिने वातावरण बनाएकोमा आयोजकलाई अध्यक्ष पुनले धन्यवाद समेत दिएका थिए ।

शिविरमा ११ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने, ७१ जनाले चस्मा लगाउनुपर्ने,सुख्खा आँखाको समस्या भएका ४५ जना,आँखमा एलर्जी भएको ६२ जना, सेतो पुतलीको असरले सापु भएका २ जना र आँखाको पर्दामा समस्या देखिएका १ जना बिरामी भेटिएको कार्यक्रम संयोजक रामजीप्रसाद सुबेदीले बताए ।

उनका अनुसार शिविरमा डेढ सय जनाको दाँतको चेकजाँच गरेकोमा ७० जनाको बिग्रिएको दाँत निकालिएको थियो । शिविरमा करिब एक लाख बराबरको औषधि वितरण गरिएको थियो ।

शिविरमा लायन्स क्लव अफ ३२५ जे का जोन चियरपर्सन खगेश्वर पौडेल, लायन्स क्लव अफ बागलुङ गोल्डेन ब्रिजका अध्यक्ष महेन्द्रप्रसाद सापकोटाको अध्यक्षता र सञ्चालन सचिव तेजिन्द्र परियारले गरेका थिए ।

Leave a Reply