---Advertisement---

नारच्याङमा ग्लोबल आइएमईको वित्तीय साक्षरता कार्यक्रम,२ सय बढीले ब्रोकर खाता खोले

On: February 24, 2024 10:24 PM
Follow Us:

ग्लोबल आइएमई बैंक बेनी शाखाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा शनिबार वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । नारच्याङको विभिन्न बस्तीमा पुगेर सर्वसाधारणलाई शाखाले डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

जलविद्युत आयोजनाको हब मानिने नारच्याङमा बैंकमा खाता नहुदाँ वित्तिय कारोबार तथा सेयर लगायतका गतिविधिमा समेत समस्या भएको जानकारी पछि बैंकले वित्तिय साक्षरता सहित घरदैलोमै खाता खोलेको शाखा प्रबन्धक सोकेन्द्र थापा मगरले बताए ।

कार्यक्रममा वित्तीय लक्ष्य निर्माण, बचत, ऋण, बजेट, रेमिट्यान्स, बैंकिङ जालसाजी, डिजिटल बैंकिङ गर्दा ख्याल राख्नुपर्ने कुराका बारेमा जानकारी गराइएको प्रबन्धक मगरले बताए ।

बैंकले वित्तीय सेवासँगै सामाजिक उत्तरदायीअन्तर्गत विभिन्न रचनात्मक एवं सिर्जनात्मक काम गर्दै आएको छ । बेनी र पोखरेबगरमा शाखा तथा सिंगा तातोपानीमा काउन्टर रहेको छ ।

यसैबीच सोही अवसरमा बेनीमा शाखा रहेको सेयर ब्रोकर कम्पनी भृकुटी स्टक ब्रोकिङले २ सय भन्दा बढी ब्रोकर खाता खोलेको कम्पनीकी प्रतिनिधि सुजिता खत्रीले बताइन् । उनका अनुसार स्थानीयलाई सेयर बजारका बारेमा जानकारी सहित ब्रोकर खाता सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न ज्ञान समेत प्रदान गरिएको थियो ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।