अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कुहुँमा खोप केन्द्रमा बालबालिका ल्याउन अभिभावकलाई निम्तो

On: February 26, 2024 12:10 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँ स्वास्थ्य चौकीकी अनमी दुर्गा गौतम खोप लगाउने निमन्त्रणा कार्ड लिएर कुहुँकी सम्झना केसीको घरमा पुगिन्। उनले फागुन १६ देखि २२ गतेसम्म वडाभित्र हुने रुबेला– दादुरा खोप अभियानमा घरमा रहेकी ३ बर्षिया छोरीलाई लिएर आउन अनुरोध समेत गरिन्।

वडाभित्र ९ महिनादेखि ५ बर्षमुनिका बालबालिकालाई घरदैलोमै पुगेर खोप लगाउने निमन्त्रणा दिइरहेका स्वास्थ्यकर्मीले रुबेला र दादुराबाट बालबालिकामा हुन सक्ने असरका बारेमा समेत अभिभावकलाई सचेत बनाउने गरेका छन् । ‘घरदैलोमा निम्तो लिएर जाँदा अभिभावक निकै खुसी हुनुहुन्छ, उहाँहरूलाई हामीले खोपका बारेमा सबै जानकारी दिने गरेका छौ’अनमी गौतमले भनिन् ।

उनले स्वास्थ्यकर्मी, महिला स्वयंसेविकाहरूले घरधुरी सर्वेक्षण सहित खोप केन्द्रसम्म बोलाउन निम्तो बाँड्ने गरेको बताइन्।वडाभिच भर्जुला, थाइबाङ, पूर्णगाउँ, कुहुँ स्वास्थ्यचौकीमा लगाइने खोप तालिका सहितको निम्तोपत्रमा १ सय ९१ जना बालबालिकाको अभिभावकको घरदैलोमै पुगेर वितरण गरिएको छ ।

मंगला गाउँपालिकाका प्रबक्ता एवम् वडा नं १ का वडा अध्यक्ष एकजित रोकाले स्वास्थ्यकर्मीको अभियानमा सबै समुदायको सक्रिय साथको आवश्यकता रहेको बताए ।

उनले विद्यालयमा अध्ययनरत विद्यार्थीमार्फत समेत सन्देश पठाउने गरिएको बताए । निम्तोपत्रसँगै पर्चा–पम्प्लेट र प्रचार प्रसार गरी खोप अभियानबारेमा शिक्षक र अन्य समुदायका संघसंस्थाले समेत सहयोग गरेका छन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।