म्याग्दीमा साढे ६ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । आगामी फागुन १६-२१ गतेसम्म म्याग्दीका ६ वटै स्थानीय तहमा डेढ सय खोप केन्द्र बाट ६ हजार ५ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको हो ।

सोमबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्ला खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रममा जिल्लाभर नौ महिना देखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेला खोप लगाउन डेढ सय खोप कार्यकर्ता र ३ सय महिला स्वंयमसेविकालाई परिचालन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका कोल्डचेन सुपरभाइजर एवम् दादुरा–रुबेला विरुद्धको खोप अभियानका प्रबक्ता बिरेन्द्रकुमार चौधरीले बताए ।

‘खोप केन्द्रहरूमा खोप पठाउन सुरू गरिएको छ, अहिले खोप कार्यकर्ताहरू घरदैलोमा पुगेर निमन्त्रणा दिइरहनुभएको छ’ प्रबक्ता चौधरीले भने । उनका अनुसार म्याग्दीको अति विकट मुदीको बगरमा रहेका बालबालिकालाई सहज हुने गरी नयाँ खोपकेन्द्र स्थापना गरिएको छ ।

म्याग्दीमा हालसम्म सबै बालबालिका खोपको पहुँचमा रहेकाले यो अभियानमा समेत नछुटने गरी प्रचारप्रसारलाई तिब्रता दिइएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुबन ठकुराठीले बताए । ‘कुनै कारणले नियमित खोप छुटेका बालबालिकालाई पनि यस पटक खोप लगाउनुपर्छ,‘यो अभियानमा सबैको साथ र सहयोगको आवश्यकता छ’ प्रमुख ठकुराठीले भने ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मजदुरी गर्ने र खोपको महत्व नबुझेकाहरु छुट्न सक्ने भएकाले लक्ष्यअनुसारका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताए ।

उनले अभियानका लागि आवश्यक पर्ने जनशक्ती सहितको ब्यवस्थापनमा कुनै कमी नहुने बताए । खोप लागाउन आउदा सेवाग्राहीले अनिवार्य खोप कार्ड ल्याउनुपर्छ । दादुरा, रुबेला रोगको संक्रमण ५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको छ ।

 

Leave a Reply