म्याग्दीको मालिका गाउँपालिका–४,स्थित छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमती भानुदेबी दम्पती परिवारले चौरासी पुजाको अवसरमा सोही वडाको ओखरबोट माविलाई आर्थिक सहयोग गर्नुभएको छ । दलबहादुर दम्पती परिवारले चौरासी पुजाको अवसरमा विद्यालयलाई दुई लाख एक सय ५३ रुपैयाँ सहयोग गर्नुभएको हो ।

सो रकम सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच दलबहादुर दम्पती ,माइला छोरा राजेन्द्र,कान्छी बुहारी ज्ञानु लगायत परिवार सदस्यले वडा सदस्य भिमसरा पुनको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक पुन ,प्रअ नविन कार्की लगायतलाई सामुहिक रुपमा हस्तान्तरण गर्नुभयो ।

विद्यालयका प्रअ कार्कीका अनुसार,विद्यालयमा अक्षयकोष स्थापनाका लागि दलबहादुर दम्पती परिवारले एक लाख ,हाल अष्ट्रेलियामा रहनुभएका माइला छोराबुहारी राजेन्द्र घर्ती मगर पुन र सानु आले मगरले पचास हजार ५१ रुपैयाँ र कान्छा छोराबुहारी धाजेन्द्र घर्ती मगर पुन र ज्ञानु घर्ती मगर पुनले पचास हजार ५१ रुपैयाँ गरी दुई लाख एक सय ५३ रुपैयाँ सहयोग गर्नुभएको हो । चौरासी पुजाको अवसरमा दलबहादुर दम्पती परिवारले आइतबार सोही वडाको च्युरीबोट स्थित सिद्धार्थ माविलाई पनि ६ लाख दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

बेलायती सेनाबाट अवकाश प्राप्त पुर्व गोर्खा सैनिक दलबहादुरले विद्यालयको भौतिक र शैक्षिक विकास सँगै गरिब,दलित र जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले आर्थिक सहयोग गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिमा आवद्ध रहेर यसअघि लामो समयसम्म काम गरिसक्नुभएको छ ।

पहिले विद्यालयमा आर्थिक समस्या हुँदा आफुहरुले विद्यालय सञ्चालनको लागि ठुलो संघर्ष गर्नुपरेको अनुभव सुनाउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासका लागि राज्य सँगै समुदायको समेत जिम्मेवारी रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले चौरासी पुजाको अवसरमा दलबहादुर दम्पतीले शैक्षिक क्षेत्रमा आर्थिक सहयोग गरेर उदाहरणीय,पुण्य र प्रेरणादायी काम गरेको भन्दै धन्यवाद दिनुभयो । उहाँले आर्थिक सहयोग रकमको अक्षयकोष स्थापना गरेर उक्त अक्षयकोषको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ती ,शैक्षिक सामग्री सहयोग र विद्यालयको विभिन्न कार्यक्रममा खर्च गरिने जानकारी गराउनुभयो ।

विद्यालयको पुरानो भवन जिर्ण भएकोले नयाँ भवन निर्माणमा सहयोग गर्न अपिल समेत गर्नुभयो । वि.सं.२००८ सालमा स्थापित विद्यालयमा कक्षा दश सम्म पढाई हुँदै आएको छ । करिब दुई सय १६ जना विद्यार्थी अध्ययनरत छन् । प्रअ कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक नविन पुनले स्वागत मन्तव्य राख्नुभएको थियो ।

यसैगरी विद्यालयका सल्लाहकार हिराबहादुर पुनले बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । विद्यालयले सहयोगदाता दलबहादुर दम्पती परिवारलाई सम्मान समेत गरेको थियो ।

Leave a Reply