म्याग्दीमा बुधबारदेखि दादुरा–रुवेला रोग विरुद्धको खोप अभियान शुरु भएको छ । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बेनी अस्पताल परिसरमा स्वास्थ्यकर्मीहरुलाई खोपको बाकस हस्तान्तरण गरेर अभियानको सुरुवात गर्नुभयो ।

सांसद गर्बुजा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सत प्रतिशत लक्षित बालबालिकालाई खोप लगाउन जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी लगायत सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायव उपरीक्षक मदन कुँवर लगायतको उपस्थिति रहेको थियो ।

फागुन २१ गतेसम्म जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालन हुने अभियान माफृत ६ हजार ५७० जना ९ महिना देखि ५ वर्ष उमेर समुहका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय म्याग्दीका दादुरा खोप अभियानका प्रवत्ता बिरेन्द्रकुमार जयसवालले बताउनुभयो ।

जिल्लाभर १५० वटा खोपकेन्द्र मार्फत खोप लगाउने व्यवस्था मिलाइएको छ । १५० जना स्वास्थ्यकर्मीका अलावा ३०० जना स्वमसेवक अभियानमा परिचालन भएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो । आफ्ना बालबालिकाको परिचय खुल्ने कागज लिएर खोप केन्द्रमा जान अनुरोध गरिएको छ । यस अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने भएकोले खोप कार्ड लिई आउन आग्रह स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

Leave a Reply