म्याग्दीमा दादुरा-रुबेला रोग विरुद्धको खोप अभियानको दुई दिनमै ५० प्रतिशतभन्दा बढीले खोप लगाएका छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा बुधबार र बिहिबार लक्षित बालबालिकामध्ये ५०.४ प्रतिशत बालबालिकाले खोप लगाएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

अभियान अन्तरगत ९ महिनादेखि ५ बर्षमूनिका ६ हजार ५७० बालबालिका मध्ये ३ हजार २ सय ७८ जना बालबालिकाले खोप लगाएका छन् । खोप अभियान फागुन २१ गतेसम्म जारी रहनेछ । पहिलो र दोस्रो दिन म्याग्दीका विकट बस्तीमा खोप अभियानमा अभिभावकले बालबालिकालाई लिएर खोप केन्द्रमा पुगेका छन् ।

सडक सञ्जालको पहुँच बाहिर रहेका बस्तीमा समेत पैदलमार्ग हुनै खोप केन्द्रमा बालबालिकासँगै पुगेका दृष्यहरुले समेत स्वास्थ्यकर्मी उत्साहित छन् ।  मंगला गाउँपालिकाका स्वास्थ्य संयोजक लेखु रोका मगरले दुर्गम बस्तीका खोपसम्बन्धि अभिभावको चासोबाट उत्साहित भएको बताए । उनले अभियानको अन्तिम दिनभन्दा पनि पहिला नै खोप लगाएर सन्तानलाई रोगको संक्रमणबाट जोगाउनुपर्नेमा अभिभावक धेरै सचेत देखेको बताए ।

खोप कार्यक्रममा उत्साहजनक सहभागिता भएको र खोपकै कारण बालबालिकामा असामान्य स्वास्थ्य असर नदेखिएको स्वास्थ्य कार्यालय म्याग्दीका दादुरा खोप अभियानका प्रवक्ता बिरेन्द्रकुमार चौधरीले बताए । जिल्लाभर १५० वटा खोपकेन्द्र मार्फत खोप लगाउने व्यवस्था मिलाइएको छ ।

१५० जना स्वास्थ्यकर्मीका अलावा ३०० जना स्वमसेवक अभियानमा परिचालन भएका छन् । जिल्लामा समयमै खोप तालिम, ढुवानी तथा वितरण तथा घरदैलोमा पुगेर प्रचारप्रसार गरिएकाले सहज भएको छ ।

यसैबीच बेनी नगरपालिका वडा नं ४ सिंगा तातोपानी स्वास्थ्यचौकीले खोपसँगै विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको छ । स्वास्थ्य चौकीकी अनमी सुमित्रा थजालीले वडाभित्रका सबै विद्यालयमा किशोर किशोरीलाई स्वास्थ्यसम्बन्धि विभिन्न रचनात्मक जानकारी सहित खोप अभियानमा जुटेको बताइन् ।

यता जिल्लामा स्थानीय तहमा रहेको सुगम क्षेत्रभन्दा दुर्गम बस्तीका बालबालिकाहरुमा खोप लगाउने धेरै छन् । दुई दिनको प्रारम्भीक तथ्याङ्कमा दुर्गम क्षेत्रका अभिभावकहरु पहिलो र दोस्रो दिनमै खोप केन्द्रमा पुगेर खोप लगाएका छन् ।

Leave a Reply